प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार विभिन्न प्रयोगशालामा गरिएको ४ सय ४१ जनाको पीसीआर परीक्षणमा ४६ र ७१ जनाको एन्टिजेन परीक्षणमा ७ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा झापामा २०, मोरङमा १३, सुनसरीमा १२ र संखुवासभामा १ जनामा संक्रमण देखिएको छ।

झापाको गौरादहमा ४, अर्जुनधारा, कनकाई, भद्रपुर र विर्तामोडमा समान ३, दमक र मेचीनगरमा समान २ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, मोरङको विराटनगरमा ७, सुन्दरहरैचामा २, बूढीगंगा, ग्रामथान, लेटाङ र उर्लाबारीमा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

मन्त्रालयका अनुसार पहाडी क्षेत्रतर्फ, संखुवासभाको खाँदबारीमा १ जनामा संक्रमण देखिएको छ।

अर्कोतर्फ, प्रदेशमा आइतबार ८५ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ४१ महिला र ४४ पुरुष छन्। मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिला र एक पुरुषको मृत्यु भएको जनाएको छ।

 

कात्तिक १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्