अलग्गै बस्दै आएका श्रीमान्‌ले नै श्रीमतीमाथि बलात्कार गरेको आरोप

सांकेतिक तस्बिर

मोरङ– सुनसरीको धरान उपमहानगरपालिकामा सम्बन्धविच्छेद गरेर श्रीमान्‌बाट अगल बस्दै आएकी एक महिलामाथि बलात्कार प्रयास भएको छ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार केही समयअघि सम्बन्धविच्छेद भएको धरान १५ मिलन चौकका थापा परिवारमा घटना भएको हो।

प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले घटनाबारे जाहेरी आएपछि ५२ वर्षीय श्रीमान्‌लाई नियन्त्रणमा लिएको बताए।

उनका अनुसार जाहेरीमा सम्बन्धविच्छेद गरिसकेको अवस्थामा बिहीबार बिहान श्रीमान्‌ले घरमा पुगेर श्रीमतीमाथि कुटपिट र बलात्कार गरेका थिए।

प्रहरी नियन्त्रणमा रहेका पीडक थापाले बिहानीपख घरमा छोराछोरी सुतिरहेका बेला जबरजस्ती गरेको खुलेको छ। प्रहरी नायब उपरीक्षक कुँवरका अनुसार घटनाबारे छोराछोरीले बयान दिएका छन्।

घटनापछि पीडितले बचाउका क्रममा होहल्ला गरेका थिए। घटनाका क्रममा घरमा रहेकी श्रीमतीको बहिनीले उनलाई देखेर सोधपुछ गर्दा पीडक श्रीमान्‌ले हतियार देखाएका थिए।

त्यसपछि बहिनी र पीडित महिलाको छोरीले होहल्ला गर्दै चिच्याएपछि पीडक थापा पक्राउ परेका बताइएको छ। धरानस्थित महिला सहयोगी सञ्जालकी सीता राईका अनुसार हाल पीडक थापा दोस्रो श्रीमतीको घरमा बस्दै आएका थिए।

पीडित परिवारका एक सदस्यका अनुसार अर्को एक महिलासँग हिमचिम बढेपछि केही समयअघि पीडक श्रीमान्‌ले श्रीमतीसँग सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेका थिए। तर, परिस्थिति सहज नदेखिएपछि असोज २० गते श्रीमतीलाई ललाईफकाई पुनः मिलापत्रको कागज गराएको ती सदस्यले जानकारी दिए।

त्यसपछि घर आउने–जाने क्रम बढ्दै गएको उनले बताए। यसअघि लामो समयसम्म दुवैजना सम्बन्धविच्छेद झैँ एक्लाएक्लै बसोबास गर्दै आएका थिए। केही समयअघि सम्बन्धविच्छेद गरेर दुवै जना फरक–फरक घरमा बस्दै आएका थिए।

प्रहरीले हाल जाहेरीसँगै नियन्त्रणमा रहेका थापासँग घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीका अनुसार हाल पीडित महिलाको स्वास्थ्य परीक्षण गरिएको छ।

कात्तिक १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्