दलीय गठबन्धन विश्वासको विपक्षमा मत हाल्दै, ठूला दलको आधारमा मन्त्रालय भागबन्डा हुने

मोरङ – प्रदेश १ मा वर्तमान सकारका मुख्यमन्त्री भीम आचार्यले सोमबार विश्वासको मत लिँदै छन्।

मुख्यमन्त्री आचार्यलाई प्रदेश सभामा बहुमतका लागि ४७ सदस्य पुर्‍याउन सम्भव नभएको गठबन्धन दलले जनाउँदै आएका छन्। सोही क्रममा आइतबार विराटनगरमा बसेको गठबन्धनको एकताबद्ध बैठकले विश्वासको विपक्षमा मतदान गर्ने सहमति जनाएको छ।

बैठकपछि कांग्रेस प्रदेश सभाका प्रमुख सचेतक केदार कार्कीले केही दिनबाट देखिँदै आएको आलोपालोको अन्योलता हटाउनेतर्फ गठबन्धन केन्द्रित भएको बताए।

प्रमुख सचेतक कार्कीले अहिलेलाई एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई नै मुख्यमन्त्री बनाउन लक्षित भएको जनाए।

केन्द्रीय गठबन्धनअनुसार प्रदेशमा सहमति नतोडिने बताएका कार्कीले आलोपालो सरकारको नेतृत्वका विषयमा भने छलफल जारी रहने जानकारी दिए।

उनले आलोपालो नेतृत्वका लागि समाजवादी पनि सकारात्मक रहेको जानकारी दिए।

अर्कोतर्फ, एकीकृत समाजवादीका प्रदेश सभा संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रदेशमा नयाँ सरकार गठन गर्न ५ दलबीच सहमत भएको बताए।

उनका अनुसार बैठकमा गठबन्धनले विपक्षमा मतदान गर्ने र मुख्यमन्त्रीमा समाजवादीलाई अवसर दिने सहमति भएको बताए।

भावी मुख्यमन्त्रीका रूपमा हेरिएका राईले केन्द्रीय गठबन्धनअनुसार प्रदेशमा सरकार निर्माण हुने भए पनि केही समयपछि आलोपालोको विषयमा छलफल गर्न सकिनेछ।

उनले भने, ‘८ सरकारमा गठबन्धन रहेको हुँदा आलोपालो पनि दलीय भागबन्डामा केन्द्रित हुनेछ। सबै तहमा दलीय गठबन्धनले नयाँ नेतृत्व वा आलोपालो गरे यहाँ पनि हुनेछ। त्यो हामीलाई पनि स्विकार्य रहनेछ।’

मुख्यमन्त्री भएपछि आफ्नो पहिलो प्राथमिकता प्रदेशको नामकरणलाई टुंग्याउने बताएका राईले मन्त्रालय पनि सोहीअनुरुप विभाजन गरिने बताए।

उनले भने, ‘दलीय गठबन्धन भएको हँुदा ५ दललाई मन्त्रालय पुग्ने गरी, अहिले गाभिएका मन्त्रालयलाई विभाजन गरिनेछ। सो क्रममा ठूला दलले सोहीअनुरूप मन्त्रालय पाउनेछन्।’

हाल सरकार जोगाउनका लागि एमालेका नेता–कार्यकर्ताबीच तीव्रता भए पनि एमालेको सदनमा ४१ प्रदेश सभा सदस्य छन्।, अर्कोतर्फ, विपक्षी गठबन्धनमा कांग्रेसको २१, माओवादी केन्द्रको १५, एकीकृत समाजवादी १०, जसपा ३, संयुक्त राष्ट्रिय लोकतान्त्रिक मञ्चको १ सदस्य छन्।

कात्तिक १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्