एकद्वार स्वास्थ्य प्रणालीको स्वास्थ्य कार्यक्रममा विरोध, मन्त्री भन्छन्- जिल्लामा स्वास्थ्य प्रमुख रहन्छन्

मोरङ – प्रदेश १ मा एकद्वार स्वास्थ्य प्रणालीको विरोध भइरहँदा सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले प्रदेशवासीलाई सरकारको अनुभूति दिलाउन एकद्वार प्रणालीबाट सेवा दिन खोजिएको बताएका छन्।

विराटनगरमा आइतबारबाट सुरु भएको प्रदेश स्वास्थ्य निर्देशनालयको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रममा मन्त्री साम्सोहाङले जिल्ला–जिल्लामा एकीकृत सेवा हुँदा प्रदेशवासीलाई नै सहज हुने जानकारी दिए।

एकद्वार प्रणालीको विषयमा धेरै विवाद गरिरहनु नपर्ने बताएका मन्त्री साम्सोहाङले बाहिर हल्ला भएअनुसार स्वास्थ्यको जिल्ला कार्यालय नरहने वा स्वास्थ्यका प्रमुख हुन नपाइने भन्ने कुरा सत्य नभएको बताए।

कार्यक्रममा मन्त्री साम्सोहाङले प्रदेश सरकारको २०७८–७९ को नीति तथा कार्यक्रम र प्रदेश सरकारको २०७८–७९ को बजेट वक्तव्यअनुसार नै प्रदेश सरकारले कार्य अघि बढाएको प्रस्ट्याएका थिए।

कार्यक्रममा मन्त्रालयका सचिव कमल भट्टराईले सरकारको नीति तथा कार्यक्रमअनुसार नै एकद्वार प्रणालीबाट सेवा दिने तयारी थालिएको जानकारी दिए।

कार्यक्रममा सहभागी जनस्वास्थ्यकर्मीले प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालयको माग राखिरहेको समय स्वास्थ्य स्वास्थ्य सेवाको परिकल्पनाभन्दा बाहिर गएर संगठन संरचना तयार गर्न खोजिएको आरोप लगाएका थिए।

तीनदिने समीक्षामा स्वास्थ्यकर्मीहरूले एकीकृत सेवा प्रणालीबारे ठोस धारणा तय गर्नुपर्ने मन्त्रालयसमक्ष माग गरेका छन्।

 

कात्तिक १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्