बाढी तथा डुबानबाट सुनसरीस्थित मोरङ औद्योगिक करिडोरमा २ अर्ब ४७ करोड बराबरको क्षति

मोरङ – कात्तिक पहिलो साता गएको बाढी तथा डुबानबाट सुनसरीस्थित मोरङ औद्योगिक करिडोरमा २ अर्ब ४७ करोड रुपैयाँ बराबरको क्षति भएको उद्योग संगठन मोरङले जनाएको छ।

विराटनगरमा डुबान र बाढी प्रभावपछि मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै आइतबार संगठनले सुनसरी मोरङ, विराटनगर कटहरी औद्योगिक क्षेत्रका ४१ वटा उद्योग प्रत्यक्ष रूपमा प्रभावित भएको जनाएको छ।

संगठनका अध्यक्ष सुयश प्याकुरेलले यस क्रममा ४१ उद्योगमा करिब २ अर्ब ४७ करोड ८९ लाख रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए।

उनका अनुसार बाढी तथा डुबानका कारण ९८ करोड १७ लाखको मेसिन औजार, ७१ करोड २५ लाख रुपैयाँको कच्चा मालवस्तु, ७६ करोड ४ लाख तयारी वस्तु र १ करोड ७१ हजार रुपैयाँ बराबरको सरसफाइ तथा फोहोर व्यवस्थापनमा क्षति भएको छ।

अध्यक्ष प्याकुरेलले बाढी व्यवस्थापन र क्षति न्यूनीकरणको एकीकृत योजना र प्रभावकारी संयन्त्र निर्माणमा जोड दिएका थिए।

सडक तथा पूर्वाधार निर्माणमा जोड दिएका अध्यक्ष प्याकुरेलले शताब्दीअघिको औद्योगिक क्षेत्रमा सडक निर्माण गर्दा उद्योगमा प्रभाव नपर्ने गरी, पानी निकासीको प्रबन्धसहित योजना बनाइनुपर्ने बताए।

हाल निर्माण भइरहेको ६ लेनको सडक निर्माण र हुलाकी राजमार्गले उद्योगमा पर्नसक्ने जोखिम तथा क्षतिलाई ध्यानमा राख्दै सडक निर्माण सच्याउन सुझाव दिए।

कार्यक्रममा उद्योगीले प्रत्येक वर्षामा सुनसरीको दुहबीस्थित विद्युत् केन्द्रको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले स्थानीय खोला तथा खोल्साको उचित व्यवस्थापनको माग गर्दै हाल यस क्षेत्रको पानी निकास पर्याप्त नरहेको, त्यसको आकार बढाउनुपर्ने र सुनसरीको ट्यांग्रा खोला तथा ठूला नालाको उचित व्यवस्थापनको माग गरेका थिए।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पूर्वाधार निर्माण क्रममा अध्ययन विश्लेषणसँगै सम्बन्धित सबैसँग छलफलपछि मात्र निर्माण कार्यलाई व्यवस्थित गर्न सकिने बताएका थिए। निर्माणका क्रममा हुने गतिविधिबारे स्थानीयले समेत सम्बन्धित पक्षलाई जानकारी गराउनुपर्नेमा प्रजिअ दाहालले जोड दिए।

४१ उद्योगको दैनिक प्रशासनिक खर्च मात्र ५ करोड रुपैयाँ रहेको प्रतिवेदनमा बाढी र डुबानबाट २७ वटा उद्योग १ सातासम्म ठप्प रहेको उल्लेख छ।

सो क्रममा डुबानबाट प्रभावित ७ वटा उद्योगलाई सञ्चालनमा आउन थप २ साता लाग्ने र ३ वटा उद्योगलाई ४ साता र बाँकी ४ वटा उद्योगलाई पूर्णरूपमा सञ्चालनमा आउन एक महिनाभन्दा बढी लाग्ने जनाइएको छ।

डुबानले मोरङको बूढीगंगा गाउँपालिकास्थित उद्योग बढी प्रभावित भएको र दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका, विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकामा रहेका उद्योग प्रभावित भएका छन्।

कात्तिक १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्