युरोपका शीर्ष लिगमा १२ गोलसहित लेवान्डोस्की अगाडि, के छ मेस्सी र रोनाल्डोको अवस्था ?

युरोपियन क्लब फुटबलको यो सिजन सुरुवातमै दुई ठूला ट्रान्सफर भए।

लियोनल मेस्सी बाल्यकालदेखि खेल्दै आएको क्लब बार्सिलोना छाडेर फ्रान्सको पेरिस सेन्ट जर्मन-पीएसजी पुगेका थिए भने क्रिस्टियानो रोनाल्डो युभेन्ट्स छाडेर म्यानचेस्टर युनाइटेड फर्किए। पछिल्लो एक दशकमा विश्व फुटबलमा राज गरेका यी दुई खेलाडीले यो सिजन भने क्लब फुटबलमा अपेक्षित प्रदर्शन गर्न सकेका छैनन्।

मेस्सीले लिग वानमा ५ खेल खेलिसक्दा पीएसजीका लागि एक गोल पनि गर्न सकेका छैनन्। उनले युरोपियन च्याम्पियन्स लिगमा भने ३ गोल गरेका छन्। यद्यपि पीएसजी लिगको शीर्षस्थानमा रहेको छ।

यता रोनाल्डोले यो सिजन क्लबका लागि ७ गोल गरेका छन्। उनले घरेलु लिगमा ७ खेल खेल्दै ४ गोल गरेका छन् भने च्याम्पियन्स लिगमा ३ खेल खेलेर ३ गोल गरेका छन्। घरेलु लिगमा १० खेलबाट १७ अंक जोडेको म्यान युनाइटेड पाँचौँ स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको चेल्सीले १० खेलबाट २५ अंक जोडेको छ। १० खेलबाट २२ अंक भएको लिभरपुल दोस्रोमा छ।

लिभरपुलका मोहम्मद सलाह इङ्गलिस प्रिमियर लिगमा १० गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा छन्। दोस्रो स्थानमा रहेका लेस्टरका जेमी भार्डीको नाममा ७ गोल छ। सलाहले ६ गोलमा असिस्ट पनि गरेका छन्।

स्पेनिस ला लिगामा  रियल म्याड्रिड, सेभिल र रियल सोसिडाडको ११ खेलबाट समान २४ अंक छ। रियल म्याड्रिडका करिम बेन्जेमा ९ गोलसहित ला लिगाको यो सिजन सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन्। दोस्रो स्थानमा रहेका रियल म्याड्रिडकै जुनियर भिनिसियसको नाममा ७ गोल छ। बेन्जेमाले ७ गोलमा असिस्ट पनि गरेका छन्। इटालियन सिरि एमा नापोली १० खेलबाट २८ अंक जोडेर शीर्ष स्थानमा छ। एसी मिलानको पनि १० खेलबाट २८ अंक छ। लाजियोका सिरो इम्मोबिल ९ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन्।

लिग वानमा यो सिजन सर्वाधिक गोलकर्ता रहेका लिलेका जोनाथन डेभिडको नाममा ८ गोल छ। युरोपका शीर्ष ५ लिगमा यो सिजन सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा जर्मन क्लब बायर्न म्युनिखमा रोबर्ट लेवान्डोस्की अगाडि रहेका छन्। उनले बुन्डेस लिगामा यो सिजन १२ गोल गरेका छन् भने एक गोलमा असिस्ट पनि रहेको छ। बुन्डेस लिगामा दोस्रो सर्वाधिक गोलकर्ता रहेका बोरुस्सिया डर्टमुन्डका एर्लिङ हालान्डको नाममा ८ गोल रहेको छ। तालिकामा १० खेलबाट २५ अंक भएको बायर्न म्युनिख शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको डर्टमुन्डको २४ अंक छ।

कात्तिक १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्