के प्रदेश १ मा पूरा होला विश्वासको मत लिने प्रक्रिया ?

मोरङ – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सरकार निरन्तरताका लागि सोमबार विश्वासको मत लिँदै छन्।

कार्तिक ७ गते विश्वासको मतको लागि मिति तय गरिएको भए पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल एमालेले विशेष कारण देखाउँदै स्थगित माग गरेका थिए। सोक्रममा सभामुख प्रदीपकुमार भण्डारीले १५ गते सोमबारका लागि विश्वासको मत लिने मिति तय गरेका थिए।

मुख्यमन्त्री आचार्यल मत विभाजनमा वर्तमान सरकारले निरन्तरता पाउनेमा विश्वस्त रहेको बताएका छन्। विश्वासको मतका लागि सत्तारुढ दललाई ७ भोट आवश्यक छ। मुख्यमन्त्री आचार्यले प्रदेशको विकास हित र जनताको पक्षमा प्रदेशसभा सदस्यहरुले आफूलाई मत हाल्ने दावी गरे।

हाल पाँच राजनीतिक दलको गठबन्धन स्वार्थमा केन्द्रित रहेको उनले आरोप लगाए। प्रदेशसभा सदस्यबीच फ्लोर क्रस हुनसक्ने सम्भावनालाई नजरअन्दाज गर्न नमिल्ने मुख्यमन्त्री आचार्यले बताए।

प्रदेशसभा सदस्यले आआफ्नो स्वविवेक प्रयोग गर्ने उनको भनाइ छ। ‘हामी आवश्यक ७ भोट जुटाउन सक्छौँ’, मुख्यमन्त्री आचार्यले भने, ‘प्रदेशसभा सदस्यहरुले सही रुपमा सरकारलाई मत दिनु हुनेछ।’

माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता इन्द्र आङबोले पाँच दलको गठबन्धनले विश्वासको विपक्षमा मत हाल्ने बताए। ‘विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव टेबल भइसकेको हुँदा मुुख्यमन्त्री आचार्यले राजीनामा दिएर मार्गप्रशस्त गर्नुहुन्छ भन्ने लाग्छ’, उनले भने, ‘सदनमा गएर मत विभाजनभन्दा पनि उहाँले स्वविवेक प्रयोग गर्दै बागमती प्रदेशको झैं यहाँ पनि राजीनामा दिनुहुँदा उत्तम हुनेछ।’

मुख्यमन्त्री आचार्यको राजीनामा आएको खण्डमा गठबन्धनले सोमबार नै प्रदेश प्रमुखसमक्ष एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईलाई मुख्यमन्त्रीको प्रस्ताव गरिने पूर्वआर्थिक मामिलामन्त्री आङबोले बताए।

‘राजीनामाको प्रसंगसँगै नयाँ मुख्यमन्त्रीको प्रस्ताव राख्नेछौं’, उनले भने, ‘त्यसपछि बाँकी मन्त्रालय भागबन्डाको विषयमा गठबन्धनमा छलफल गर्दै दलमा राख्नेछौं।’

नेता आङबोले वर्तमान सरकारले गएको दुई महिनामा गरेको राजनैतिक नियुक्ति र निर्णय सबै खारेज गर्ने बताए। ‘अहिलेको सरकार निर्माण नै प्रक्रियागत रुपमा गलत रहेको छ। यस सरकारले गरेको राजनैतिक नियुक्ति र निर्णयलाई नयाँ सरकारले निरन्तरता दिनु आवश्यक छैन’, उनले भने, ‘यसबीच गरिएका सबै निर्णय खारेज गर्नेछौं।’

गठबन्धनमै रहेको जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले पनि नैतिकताका आधारमा मुख्यमन्त्री आचार्यले राजीनामा दिनुपर्ने बताए। नेता यादवले प्रदेशसभामा गोप्य मतदान नहुने हुँदा मत विभाजनपूर्व नै राजीनामा दिएर मार्गप्रशस्त गर्नु राम्रो हुने सुझाव दिए।
‘हामी मत विश्वासको विपक्षमा हाल्ने निर्णयमा पुगिसकेका छौं। यसपछि गठन हुने सरकारमा मन्त्रालय भागबन्डामा अहिले जसपाको दाबी छैन’, उनले भने, ‘नयाँ सरकार गठनपछि गठबन्धनमा छलफल गर्दै अघि बढ्छौं।’

सत्तारुढ एमालेसँग हाल सभामुख प्रदीपकुमार भण्डारीसहित ४१ सदस्य रहेका छन्। गत भदौ १० गते मुख्यमन्त्रीमा आचार्यले पदभार ग्रहण गरेसँगै उनकै दलभित्रका प्रदेशसभा सदस्यहरुले साथ नदिएको राजनीतिक विश्लेषकको भनाइ छ। आफ्नै दलभित्रबाट अपेक्षाकृत रुपमा साथ नपाउँदा सरकारको लागि आवश्यक ४७ मतको सम्भावना कम रहेको उनीहरुको बुझाइ छ।

प्रदेशसभामा एमालेको ४१ सँगै नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको समान १÷१ प्रदेशसभा सदस्य रहेका छन्।

यसअघि माओवादी केन्द्रका प्रदेशसभा सदस्य टंक आङबुहाङ भने पदमुक्त भइसकेका छन्।

कात्तिक १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्