प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा

मोरङ – प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा घोषणा गरेका छन्।

प्रदेश नम्बर १ को प्रदेशसभामा सोमबार विश्वासको मत लिने क्रममा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिने घोषणा गरेका हुन्। उनी गएको भदौ १० गते मुख्यमन्त्रीमा चयन भएका थिए। आचार्यले २ महिना ५ दिन मुख्यमन्त्री पदको जिम्मेवारी बहन गरेका छन्।

प्रदेशसभाको बैठकमा राजीनामा दिने घोषणा गर्दै आचार्यले बहुमत पुराएर सरकारको नेतृत्व गर्ने नयाँ नेतृत्वलाई रचनात्मक ढंगबाट सहयोग गर्ने बताए।

राजनीति उतारचढावको खेल भएको बताउँदै उनले भने, ‘अब बन्ने सरकारलाई राम्रो काम गरे सकारात्मक र पूर्ण रुपमा सहयोग गर्नेछौं। जनताको हितविपरीत नराम्रो काम गरे आलोचना पनि गर्ने नै छौं।’

एमाले विभाजन भएर दुई चिरा परेसँगै सरकारमा बहुमत गुमाएको आचार्य सरकारले नेतृत्व निरन्तरताका लागि प्रयास गरेको थियो। सदनमा ४१ मत रहेको एमालेले बहुमतका लागि ४७ मत पु¥याउनुपर्ने थियो। सोमबार बहुमत पु¥याउन सक्ने अवस्था नदेखिएपछि आचार्यले राजीनामा घोषणा गरेका हुन्।

राष्ट्रिय अखण्डता प्राप्त गर्न दलहरुबीचको एकता कायम रहनुपर्नेमा जोड दिँदै उनले भने, ‘दलहरुबीच एकले अर्कोलाई छिर्के हानेर लडाए पनि, कसैले कसैलाई तल झारे पनि त्यसले राष्ट्रिय अखण्डता पुरा हुँदैन। त्यसैले संविधानको पालना, रक्षा र लोकतन्त्र जोगाउनका लागि सबै एक हुनु आवश्यक छ।’

मुलुकमा शान्ति स्थापनापछि सबैको एउटै ध्येय जनताको काम गर्नु र जनताका अपेक्षा पूरा गर्नु रहेको उनले सुनाए। ‘सरकार गिराउने र उठाउने खेलका क्रममा म यसअघि नै पनि राजीनामा दिन सक्थे। तर प्रदेशवासीको लगाव, उहाँहरुको चाहना र वर्तमान सरकारले निरन्तरता पाउनुपर्ने अपेक्षाले केही समय धकेलिएको हो’, उनले भने, ‘हामी सबैले जनताको अपेक्षाअनुरुप नै कार्य गर्नुपर्छ।’

माधवकुमार नेपाल पक्ष पार्टी विभाजनमा गएपछि बहुमतका लागि आफूले भदौ २५ गते नै विश्वासको मतका लागि प्रस्ताव दर्ता गराएको स्मरण गराउँदै उनले भने, ‘सरकार छाड्न त्यही बेला मन थियो। तर जनताको इच्छा र जनताको कामले सरकारको माग गरिरह्यो। जनअपेक्षा र माग सरकारको पक्ष निरन्तर रह्यो। भलै अंकगणितको अवस्था सदनमा पुराउन सकिएन। तर जनताको पक्ष सरकारमा नै थियो।’

गएको दुई महिने कार्यकालमा भएका गतिविधि सदनलाई जानकारी गराउँदै आचार्यले राजीनामा घोषणा गरेका थिए। केही आवश्यक नियुक्ति र बोर्ड गठनलाई कार्यकर्ता भर्तीका रुपमा नलिन आग्रह गर्दै उनले भने, ‘पर्यटन, खेलकुद जस्ता लक्षित कार्यक्रमलाई चलायमान बनाउनसमेत सरकारले नियुक्ति गरिएको हो। यसलाई कार्यकर्ता भर्तीको रुपमा साँघुरो सोच नराख्न आग्रह गर्छु।’

उनले राजीनामा घोषणा गरेसँगै सभामुख प्रदीपकुमार भण्डारीले मंगलबारसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन्। अब पाँचदलीय गठबन्धन एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने प्रस्तावसहित प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी कहाँ पुग्ने तयारी गरिरहेका छन्।

कात्तिक १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्