कोरोना बिमा रकम माग गर्दै अदालतमा मुद्दा

नेपालगञ्ज – कोरोना बिमा रकम नपाएको भन्दै बिमितले नेपालगञ्जमा बिमा कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्। दुई वर्षअघि बिमा गरेका व्यक्तिले अहिलेसम्म रकम नपाएपछि बिमितहरू अदालतको शरणमा पुगेका हुन्।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा बिमितको तर्फबाट ७ जनाले २० वटा बिमा कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन्।

सार्वजनिक सरोकारको विषयमा मुद्दा दायर गर्दै आएका नेपालगञ्जका कानुन व्यवसायी र अधिकारकर्मीले बिमितको तर्फबाट मुद्दा दायर गरेका छन्। उनीहरू आफैँ पनि पीडित हुन्।

बारका उपाध्यक्ष सुनील श्रेष्ठ, बार नेपालगञ्जका पूर्वअध्यक्ष लोकबहादुर शाह, बलबहादुर चन्द र विकास आचार्य, इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत, अधिवक्ताद्वय वसन्त गौतम र विश्वजित तिवारीले १० जना बिमितको तर्फबाट मुद्दा दायर गरेका छन्।

बिमा कम्पनीले सम्झौताबमोजिम बिमाको रकम दिएका छैनन्। बिमा कम्पनीमा रकम माग गर्दा ‘केही समयपछि भइहाल्छ नि!’ भनेर झुलाउने काम भइरहेको छ। कतिपय बिमा कम्पनीले सरकारबाट अनुदान आएपछि दिने बताउँदै आएका छन्।

नेपाल बारका उपाध्यक्ष सुनीलकुमार श्रेष्ठले विधि प्रक्रिया पु¥याएर बिमा रकम माग गर्दा झुलाएको बताए। नेपालमा २५ वटा बिमा कम्पनीले कोरोना बिमा गरेका छन्।

बाँकेमा त्यसका २० वटा शाखा रहेको बुझिएको छ। बिमितले रीतपूर्वक कागजात पेस गरेको सात दिनभित्र बिमा रकम दिनुपर्ने सम्झौतामा उल्लेख छ। बिमा लेखको अवधि बिमा लेख सुरु भएको मितिदेखि ०७८ असार मसान्तसम्म हुनेछ भनिएको छ।

अधिकारकर्मी महतले कतिपय बिमा कम्पनीसँग कति बिमितले रकम पाए, कतिले पाएनन् भनेर सूचना हक प्रयोग गरेर सूचना माग्दा पनि नदिइएको बताए।

निवेदनकहरूले भनेका छन्, ‘बिमा ऐन २०४९ र कोरोना मापदण्ड २०७७ बमोजिम दाबी भुक्तानीका लागि बिमकलाई रकम दिने जिम्मेवारी भएका विपक्षी बिमा कम्पनीले रकम हालसम्म उपलब्ध नगराएको हुँदा साह्रै अन्यायमा परी यो निवेदन दिएका छौं।’

 

कात्तिक १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्