च्याम्पियन्स लिगको आफ्नो सयौँ खेलमा लेवान्डोस्कीले गरे ह्याट्रिक, यो सिजन मेस्सी र रोनाल्डो दुवै पछाडि

सानदार लयमा रहेका रोबर्ट लेवान्डोस्कीले युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूगहत चरणको मंगलबार रातिको खेलमा बेनफिकाविरुद्ध ह्याट्रिक गरेका छन्।

घरेलु मैदानमा बायर्नले बेनफिकाको सामना गरिरहँदा च्याम्पियन्स लिग फुटबलमा लेवान्डोस्कीको यो सयौँ खेल थियो। लेवान्डोस्कीको सानदार प्रदर्शन कायम रहँदा बायर्नले बेनफिकालाई ५-२ गोलले हरायो।

लेवान्डोस्कीले २६, ६१ र ८४ औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरेका थिए। पहिलो हाफको इन्जुरी समयमा प्राप्त पेनाल्टीमा भने उनी चुकेका थिए। लेवान्डोस्की यो सिजन युरोपका शीर्ष घरेलु लिग र च्याम्पियन्स लिग दुवैमा सर्वाधिक गोल गर्ने खेलाडी रहेका छन्।

च्याम्पियन्स लिगको यो सिजन उनको गोल संख्या ८ पुगेको छ। उनले प्रतियोगितामा इतिहासमा आफ्नो गोल संख्या ८१ पुर्‍याएका छन्। उनीभन्दा अगाडि रहेका केवल दुई खेलाडीमध्ये लियोनल मेस्सीको एक सय २३ र क्रिस्टियानो रोनाल्डोको एक सय ३९ गोल रहेको छ।

प्रतियोगिताको इतिहासमा लेवान्डोस्कीले चौथोपटक ह्याट्रिक गरेका हुन्। उनीभन्दा अगाडि रहेका केवल दुई खेलाडीमध्ये मेस्सी र रोनाल्डोको नाममा समान ८ ह्याट्रिक रहेको छ। च्याम्पियन्स लिगको यो सिजन मेस्सीले ३ र रोनाल्डोले ५ गोल गरेका छन्।

लेवान्डोस्कीले यो सिजन घरेलु लिग बुन्डेस लिगामा समेत १२ गोल गरिसकेका छन्। मेस्सीले गोल गर्न सकेका छैनन् भने रोनाल्डोको नाममा ४ गोल रहेको छ।

कात्तिक १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्