हिमालयन शेर्पा फुटबल क्लब च्याम्पियन

मोरङ – हिमालयन शेर्पा फुटबल क्लबले मोरङमा सम्पन्न बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोतिगाको चौथो संस्करणको उपाधि चुमेको छ।

बेलबारी नगरपालिकाको लक्ष्मीमार्गमा बुधबार राती सम्पन्न उपाधि भिडन्तमा शेर्पाले विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफलाई ३–१ गोलले पराजित गरेको थियो।

गोल्डकपमा पहिलोपटक उपाधि हात पार्ने क्रममा शेर्पाका लागि अन्जल गुरुङ, मुतुम्बा र सुरस कुमालले समान एकएक गोल गरेका थिए। उपविजेतामा चित्त बुझाएको एपीएफका लागि रवि थिङले सान्त्वना गोल फर्काए।

रोमान्चक बनेको फाइनलको पाँचौं मिनेटमा शेर्पाका लागि अञ्जल गुरुङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। गुरुङले प्रहार गरेको कर्नरमा मुतुम्बाले हेड गर्दै गोलका लागि प्रयास गरेका थिए। तर सो हेड फितलो हुँदा पुनः गुरुङले कर्नर लाइनबाट उत्कृष्ट प्रहार गरी गोल गरेका थिए। मैदानमा व्यस्त बनेका एपीएफका गोलरक्षकविरुद्ध खेलको १७ औं मिनेटमा मुतुम्बा वान भर्सेस वानमा गोल गर्न चुकेका थिए।

खेलको ३८ औं मिनेटमा एपीएफका आशिष लामाको पासमा प्रदीप लामाले बक्सभित्रबाट गरेको आकर्षक प्रहारको गोलरक्षक किशोर गिरीले बचाउ गरेका थिए। पहिलो हाफको ४३ औं मिनेटमा एपीएफका लागि आवास लामिछानेको पासमा रवि थिङले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए।

पहिलो हाफ समान १–१ गोलको बराबरीमा रोकिए पनि खेलको ७१ औं मिनेटमा हिमालयनका मुतुम्बाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए। त्यसपछि मैदानमा गोलका लागि प्रयासरत एपीएफविरुद्ध पुनः शेर्पाका सुरस कुमालले ८८ औं मिनेटमा गोल गर्दै टोलीको जीत सुनिश्चित बनाए।

खेलको म्यान अफ द म्याच हिमालयनका सञ्जित राई भए। प्रतियोगिता आयोजक डाँगीहाट युथ क्लबले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट गोलरक्षक किशोर गिरी, एन्जल गुरुङ उत्कृष्ट डिफेन्स, उत्कृष्ट फरवाड मुतुम्बा र उत्कृष्ट प्रशिक्षक युगलकिशोर राई घोषणा गरिएको थियो। उत्कृष्ट सबै खेलाडी हिमालयन शेर्पा क्लबका हुन्।

उपविजेतामा चित्त बुझाएको एपीएफका नवीन लामा उत्कृष्ट मिडफिल्डर र राइजिङ खेलाडीमा आयोजक डाँगीहाट युथ क्लबका रोहन कार्की भए।

उपाधि हात पारेको शेर्पाले ५ लाख रुपैयाँका साथै उपाधि ट्रफी प्राप्त गरेको छ। उपविजेता एपीएफले नगद २ लाख ५ हजारमा चित्त बुझाएको छ।

कात्तिक १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्