विराटनगरमा व्यापारीमाथि प्रहरीद्वारा कुटपिट

विराटनगर क्षेत्र

मोरङ – आफ्नै पसलभित्र लक्ष्मीपूजा मनाउने क्रममा विराटनगरमा व्यापारीमाथि प्रहरीद्वारा कुटपिट भएको छ।

विराटनगर महानगरपालिका शनि मन्दिर रोडमा रहेको के.के हार्डवेयरका सञ्चालक भरत अग्रवालमाथि लक्ष्मीपूजा गर्ने क्रममा बिहीबार राति कुटपिट र दुर्व्यवहार भएको हो। पीडित अग्रवालका अनुसार राति करिब १० देखि साढे १० बजेभित्र प्रहरीको टोलीले जबरजस्ती पसल बन्द गर् भन्दै गाली गलौच गरेको आरोप लगाए।

राति बजारका पसल खुला रहेको अवस्थामा बन्द गराउँदै आएका प्रहरीमध्ये एकले आधा बन्द गरेर पूजा गर्न सुझाव दिएको र पछि फेरि अरु प्रहरी आएर तथानाम गाली गलौच गर्दै आफूलाई पक्राउ गरी वडा प्रहरी कार्यालय लगेको उनको भनाइ छ।

प्रत्यक्षदर्शीका अनुसार राति पूजा गर्ने क्रममा सुरक्षाकर्मीले बन्द गराउँदा दुवै पक्षबाट भनाभन भएको र सोही क्रममा प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिएको थियो ।

विराट व्यापार संघका अध्यक्ष सुजन थापाले घटनाबारे राति नै थाहा पाएर पसल सञ्चालकलाई प्रहरीबाट छुटाएको जानकारी दिए।

लक्ष्मीपूजाको राति पूजा गर्छु भनेर आफ्नै पसलभित्र बसिरहँदा प्रहरीले ज्यादती गर्नु निन्दनीय भएको बताउँदै अध्यक्ष थापाले रातिको समय प्रहरीले अन्य व्यापारीलाई समेत अश्लील गाली गलौच गर्दै हिडेको गुनासो आइरहेको बताएका छन्।

प्रहरीको बिट नजिकै मध्यरात लाखौँको सामानसहित पसल लुटिँदा सुरक्षा दिन नसकेको प्रहरीले पसलभित्र पूजा गर्दासमेत दुर्व्यवहार गरिनु आपत्तिजनक भएको बताए।

अर्कोतर्फ, बुधबार जिल्ला प्रशासन कार्यालय मोरङले कोभिड-१९ को सुरक्षार्थ राति १० बजेसम्म मात्र बजार खुला राख्न निर्देशन दिएको छ। जिप्रका मोरङले मेला, जात्रा, महोत्वसजस्ता भीडभाडजन्य गतिविधि सञ्चालन गर्न रोक लगाएको प्रशासनले देउसी, भैलोजस्ता परम्परागत सांस्कृतिक कार्यक्रममा मास्कको प्रयोग र सामाजिक दूरीको नियम पालना गरी रातिको १० सम्म मात्र कार्यक्रम गर्न पाउने आदेश गरेको छ।

यद्यपि, व्यापारीले भने प्रशासनले जारी गरेको आदेशबारे आफूहरू अनभिज्ञ रहेको बताउँदै आएका छन्। वडा प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक कार्कीले भने राति प्रहरीबाट दुर्व्यवहार नभएको दाबी गरे।

कात्तिक १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्