घाइते पैदलयात्रीको परिचय नखुल्दा उपचारमा समस्या

मनिपाल अस्पताल। फाइल तस्बिर।

तनहुँ – कात्तिक १७ गते बुधबार बिहान साढे ७ बजे बसको ठक्करबाट घाइते भएका पैदलयात्रीको परिचय खुल्न नसक्दा उपचारका लागि समस्या भएको प्रहरीले जनाएको छ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँ व्यास नगरपालिका- १ तालघरेमा अचेत अवस्थामा भेटिएका ती पुरुषको अहिले पोखरास्थित मणिपाल अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ। डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ५०३१ नं को बसले पैदल यात्रीलाई ठक्कर दिँदा उनी सख्त घाइते भएका थिए।

उनी अचेत रहेकाले निजको हालसम्म पनि नामथर खुल्न सकेको छैन। यसका कारण उपचारमा पनि समस्या आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।

अन्दाजी वर्ष ३५–४० को देखिने ती पुरुषको अनुहार र टाउकामा गम्भीर चोट लागेको छ। तिमिल्सेनाले भने, ‘हामीले आफ्नो क्षेत्रबाट घाइतेका आफन्तजनको खोजी गरिरहेका छौँ तर भेटाउन सकिरहेका छैनौँ।’

घाइते अवस्थामा सडकमा भेटिएका उनलाई प्रहरीको सहयोगमा तत्काल रत्नहरि अस्पताल दमौलीमा ल्याएर उपचार गराइएको थियो। स्वास्थ्य गम्भीर हुँदै गएपछि सो अस्पतालमा मात्र उपचार सम्भव नभएकाले उनलाई पोखरा पठाइएको थियो।

कात्तिक २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्