गिनिज बुक रेकर्ड प्रमाणपत्र एन्फा पदाधिकारीबाट लिने इच्छा पूरा भएन, आमाको हातबाट लिएँ – दीपा अधिकारी

आमाको हातबाट गिनिज बुक प्रमाणपत्र लिँदै दीपा अधिकारी।

मोरङ – ‘सायद फेरि अब म फुटबलमा फर्कन्न। देशका लागि घरपरिवार, पढाइ, उमेर, कर्म सबैथोक त्यागेर खेलियो। तर अन्तमा चोट भएपछि मैदान बाहिर भइयो। अब पुग्यो। अब भविष्य हेर्न र परिवार पाल्न विदेशिनुको विकल्प छैन’, एकै सासमा पूर्वराष्ट्रिय महिला खेलाडी दीपा अधिकारीले भनिन्।

मोरङको कानेपोखरी गाँउपालिका ७ मा २०४९ सालमा जन्मिएकी दीपा सानैबाट फुटबलमा रमाँउथिन्। सानैमा उनको साथी सडक र चौरमा फुटबल खेल्ने केटाहरु र फुटबल नै रह्यो। सानैमा खेल्दै गर्दा स्थानीय डम्मर गुरुङको देन उनी भुल्न नसक्ने बताँउछिन्।

म्याच कमिश्नरको भूमिका निभाउँदै आएकी अधिकारीले भनिन्, ‘सानैमा डम्मर गुरुङ सरले मलाई फुटबलमा नडोराइदिएको भए आज घरभित्र चुल्होचौकामा सीमित रहने थिएँ। विश्वमा मातृभूमिको नाम राख्ने चेलीका रुपमा चिनिन्न थिएँ। आज गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा नाम रहँदा सबैतिर शिर उच्च गरेर हिँड्न थालेको छु। सबैले माया गर्नुहुन्छ।’

जोर्डनमा फुटबल खेल्दै।

महिला हिंसाविरुद्ध र लैंगिक समानताका लागि काम गर्दै आएको इक्वेल प्लेयिङ फिल्ड नामक संस्थाले दीपाको नाममा रहेको गिनिज बुक अफ वर्ल्डको प्रमाणपत्र दसैँको पूर्वसन्ध्यामा पठाएपछि उनी एकाएक फेरि फुटबल वृत्तमा छाएकी छिन्। २०७४ सालको चैत २३ गते समुन्द्र सतहभन्दा ३ सय २० मिटर गहिरो मृत सागरको भूमिमा फुटबल खेलेकी थिइन्। जोर्डनको मृत सागर (घोर अल साफी) मा अष्ट्रेलिया, स्पेन, प्यालेस्टाइन, भारत, बेलायत अमेरिका, नेपालसँगै अन्य विभिन्न २० राष्ट्रका महिला खेलाडी, पदाधिकारीले फुटबलमा सहभागिता जनाएका थिए। दीपा सम्झन्छिन्, ‘धेरै गाह्रो थियो। त्यहाँसम्म पुग्न। करिब १ सय किलोमिटरको ट्रेकिङ पार गर्दै गहिरो स्थानमा बनाइएको मैदानमा पुगेका थियौं। निकै थकित अवस्थामा थियौं। तर केही उद्देश्यसहित खेल्दा फरक अनुभूति भएको थियो।’

फुटबल प्रशिक्षक कुमार थापाको योगदानबाट आफ्नो लागि इक्वेलमा ढोका खुलेको बताएकी अधिकारीले भनिन्, ‘२०७४ को जेठमा पनि तान्जानियामा आयोजित यसैप्रकारको विश्व कीर्तिमानका लागि खेल्न अवसर आएको थियो। जसको लागि कुमार सरले मलाई सहयोग गर्नुभएको थियो। तर त्यहाँ सफल हुन सकिनँ। मनमा अठोट लिएकी थिएँ, एकदिन सफलता हासिल गर्नेछु भनेर। सो समय जोर्डनमा आएको थियो।’

२०७३ सालको अन्ततिर दीपालाई कुमार थापाले नै इक्वेलको कार्यक्रमका लागि अन्तर्वार्ता दिन सुझाव दिएका थिए। सो समय मुलुकै नाम राख्नका लागि आएको अवसर गुमाउने पक्षमा उनी थिइनन्। अन्तर्वार्ताका क्रममा उनले आफूले कानेपोखरीमा खेल्ने गरेको मैदानबारे जानकारी गराएकी थिइन्। जहाँको सानो चौरमा खेल्दै गर्दा नजिककै मानवका मृत शरीरलाई अन्त्येष्टि गरिरहेको दृश्य सामान्य हुन्थ्यो। सोही जानकारी इक्वेलमा गर्दा छनोट भएको उनको बुझाइ छ।

२०७३ सालमा पहिलोपटक तान्जानियामा आयोजित कार्यक्रमका लागि उनले अभिभावक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) मा आग्रह गरेकी थिइन्। महिला हिंसा र लैंगिक समानताविरुद्ध खेल्न जानका लागि एन्फाले स्वीकृति र सहयोग गर्छ भन्ने उनको ठूलो अपेक्षा थियो। उनी भन्छिन्, ‘सो समय मैले अध्यक्ष नरेन्द्र श्रेष्ठ र महासचिव धिरेन्द्र प्रधान दुवैसमक्ष कुरा राखे। तर दुवैजनाले मलाई हाँसोको पात्र बनाइदिनुभयो। उहाँहरुले केटी मान्छे कता एक्लै त्यहाँ जाने? हुँदैन, जानुपर्दैन भन्दै पन्छिनुभयो। मैले सहारा पाइनँ।’

एन्फाले सहयोग नगरे पनि उनी केही साथीभाइको सहयोगमा तान्जानियाको किलिमन्जारो पर्वतमा फुटबल खेल्न पुगिन्। विश्वको अग्लो स्थानमा रहेको मैदान पुग्न करिब ७ मिनेटको बाटो रहँदै गर्दा उनी बिरामी परिन्। मैदान नै नपुगिकन घर फर्कन बाध्य भइन्। त्यसको केही महिनापछि सो संस्थाले पुनः उनलाई सम्पर्क ग¥यो र समुन्द्र सतहभन्दा गहिरो स्थानमा खेल्नका लागि आमन्त्रण गर्‍यो। उनलाई जोर्डन जान पुनः आर्थिक समस्या पर्‍यो। जिल्ला फुटबल संघ मोरङका अध्यक्ष दीपेन्द्र धिमाल, एन्फाका तत्कालीन पदाधिकारी बसन्त अर्यालको समन्वयमा एन्फाका वर्तमान केन्द्रीय सदस्य रुपेश अधिकारीले उडान खर्चको व्यवस्था गरे। दीपा सम्झन्छिन्, ‘अघिल्लोपटक समस्या भएको थियो। तर जोर्डन जानका यतैबाट सहयोग जुट्यो। खेल्न पनि सकेँ। विश्वका अन्य राष्ट्रबाट समेत खेलाडी पदाधिकारी आएका थिए। उनीहरुबाट सिक्ने अवसर पनि पाएँ।’

विदेशमा भाषामा समस्या हुदाँ दुवैपटक सहयोगले साथ दिएको उनले बताइन्। परिवारले पढ्नका लागि जोड दिँदै गर्दा फुटबललाई भविष्य ठानेकी दीपाले २०७४ पछि दुवै खुट्टामा चोट लागेपछि मैदान र बल त्यागेको मलिन अनुहार बनाउँदै बताइन्। उनले भनिन्, ‘राष्ट्का लागि खेल्दै गर्दा खुट्टामा समस्या आयो। अनि फुटबललाई छाडियो। तर माया मार्न सकिएन। अझै पनि म्याच कमिश्नरका रुपमा रहेको छु। समयमा पढ्न ध्यान दिइएन। समस्या अहिले देखियो। विदेश जाँदा भाषामा समस्या हुने गरेको छ। इक्वेलको कार्यक्रममा तान्जानियामा अमेरिकामा रहेका राजेश श्रेष्ठ र जोर्डनमा श्रेष्ठसँगै समकक्षी खेलाडी लक्ष्मी पौडेलले सहजकर्ताको भूमिका निभाए। खुसी लाग्यो।’

२०६७ सालबाट राष्ट्रिय फुटबल टोलीमा परेकी अधिकारीले निरन्तर २०७४ सालसम्म फुटबललाई समय दिइन्। सात वर्षको अन्तरालमा साफमा श्रीलंकामा भारतसँग उपाधि भिडन्तमा हारेको खेल बिर्सन नसकिने रहेको उनको भनाइ छ। उपाधिका लागि भिड्दै गर्दा राइट विंग्सबाट खेलेकी अधिकारीले टोलीका लागि एकमात्र गोल गरेकी थिइन्। सो प्रतियोगितामा उनले कुल ४ गोल गरेकी थिइन्। यसबीच उनले पूर्वाञ्चलको मोरङ महिला टोली, दुई विभागीय टोली त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलबाट समेत राष्ट्रिय लिगमा स्पर्धा गरिसकेकी छिन्। फुटबलसँगै व्यावसायिक बन्ने प्रयास पनि उनले गरेकी थिइन्। केही वर्षअघि काठमाडौँमा समकक्षी फुटबल खेलाडीसँगै उनले मदिरा व्यवसाय सुरु गरेकी थिइन्। तर कोभिड १९ को कारण त्यसलाई विश्राम दिन बाध्य भइन्।

फुटबलबाट नाम, चर्चा र राष्ट्रलाई विश्वसामु परिचित गराउँदै गर्दा आफ्नो भविष्य कतै नदेखेकी अधिकारी अहिले विदेशिने क्रममा रहेकी छन्। उनी भन्छिन्, ‘फुटबल खेलिरहँदा धेरै उतारचढाव देखें। नजिक टाढा हुँदा समस्यामा सहयोग नि पाएँ। तर अब आफ्नो भविष्य कोर्न विदेशिनुको विकल्प देखिनँ। सबै प्रक्रिया पूरा भइसकेको छ। तिहारपछि जन्मभूमिबाट कर्मभूमि जाँदैछु।’

यति भनिरहँदा उनको आँखा रसाएका थिए। हुन त यसअघि एकपटक साउदी अरबमा पनि कार्यका लागि प्रयास गरेकी थिइन्। तर समयले साथ दिएन।

कानेपोखरीमा रहेको परिवारमा आमा चन्द्रमाया, दाइ दीपक र दुई दिदी निर्मला र तारा अधिकारी रहेका छन्। उनी भन्छिन्, ‘सबैको परिवार आआफ्नै हुन्छ। जन्म दिने आमाको लागि हेर्न सक्ने गरी फर्कनु छ। बुबाको सहारा जन्मिएको ७ महिनामै गुमाए पनि आमाले दुवैको मायामा कमि हुन दिनुभएन। अब यसरी जीवन बिताउन सकिन्न भन्ने सोचमा पुगेको छु। परिवारलाई हँसिलो र गर्विलो बनाउने प्रयत्न हुनेछ।’
गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्रसमेत एन्फा अध्यक्षबाट लिने चाहना पूरा नभएपछि उनले आमाबाट लिएकी थिइन्। उनलाई अवसर दिने इक्वेल प्लेयिङ फिल्डको मुख्यालय भने पपुवा न्यु गिनीमा रहेको छ। रग्बी खेलमा हुने गरेको हिंसासँगै जोडिएर उक्त संस्था सन् २०१२ मा स्थापना भएको हो। त्यसको ३ वर्षपछि यसको नाम परिवर्तन गरी इक्वेल राखिएको हो। यसको अध्यक्षमा अस्टे«लियाका एडम एभ्रिल र पपुवा न्यू गिनीकी ज्याकी जोसेफ रहेका छन्।

कात्तिक २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्