फरकफरक सवारी दुर्घटनामा ७ जनाको मृत्यु

सांकेतिक तस्बिर

मोरङ – प्रदेश १ का विभिन्न स्थानमा शनिबार भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार शनिबार बेलुका प्रदेशका तीन जिल्लामा भएको सवारी दुर्घटनामा ७ को मृत्यु र ७ जना घाइते भएका हुन्।

प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार मोरङ, झापा र उदयपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा ७ जनाको मृत्यु भएको हो। मोरङको केराबारी गाँउपालिकास्थित बेलौरीमा को४०प १७२७ नम्बरको मोटरसाइकल र बा१०च ४३०० नम्बरको स्कोरपियो जुध्दा तीन जनाको मृत्यु भएको उनले बताए।

तीन जना सवार मोटरसाइकल चालक लेटाङ नगरपालिका २ का ३० वर्षीय कमल कार्की र पछाडि सवार पथरी शनिश्चरे नगरपालिकाका ५५ वर्षीय तिलकबहादुर सुवेदीको घटनास्थलमा मृत्यु भएको हो। सोही मोटरसाइकलमा सवार ४५ वर्षीया सीता कार्कीको धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बेलुका मृत्यु भएको प्रवक्ता राईले जानकारी दिए। प्रहरीले स्कोरपियो र त्यसका चालक लेटाङ नगरपालिका २ का ४७ वर्षीय पुष्पबहादुर मगरलाई नियन्त्रणमा लिएको छ।

त्यसैगरी मोरङ रंगेली नगरपालिका– ६ टकुवा–पीपल चौक भित्री सडकखण्डमा साइकलमा सवार सुनवर्षी नगरपालिका– ६ पटियापाडाका ३० वर्षीय शत्रुघन साहको मृत्यु भएको छ। प्रहरीका अनुसार बेलुका साइकलबाट लडेर घाइते भएका साहको रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको हो।

उदयपुरको त्रियुगा नगरपालिकामा स१ह १६२० नम्बरको अटो र को१९प ९६४६ नम्बरको मोटरसाइकल एकापसमा जुध्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सो घटनामा अन्य २ जना घाइते भएका छन्। सो घटनामा परी गम्भीर घाइते भएका त्रियुगा नगरपालिका– ११ का ८५ वर्षीय कुलप्रसाद भण्डारीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा राती मृत्यु भएको हो।

घटनामा घाइते मोटरसाइकल चालक सप्तरी कञ्चनपुर नगरपालिका– १२ का ५२ वर्षीय कमलप्रसाद पोखरेल र अटो चालक उदयपुर चौदण्डीगढी नगरपालिका– ७ का ४२ वर्षीय नरबहादुर कार्कीको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी झापाको बिर्तामोड नगरपालिका– ६ गिरीबन्दु टि–स्टेट नजिक मोटरसाइकल र प्र१–०१–०१४प ६००७ नम्बरको स्कुटी ठक्कर खाँदा स्कुटी चालक मेची नगरपालिका– १० का ४२ वर्षीय डिल्ली कार्की, पछाडि सवार उनका छोरा १६ वर्षीय मनिष कार्की र अर्को मोटरसाइकल पछाडि सवार झापा हल्दिबारी गाउँपालिका– २ का २१ वर्षीय पिजेश लामा घाइते भएका थिए। घाइतेहरुको उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो।

प्रहरीका अनुसार स्कुटीको पछाडि सवार व्यक्तिको उपचारका क्रममा राती मृत्यु भएको छ। दुर्घटनामा परेको रातो रंगको २२० सीसीको मोटरसाइकलको नम्बर खुल्न नसकेको छैन। प्रहरीले अर्को मोटरसाइकलका चालक झापा हल्दिबारी गाउँपालिका– २ का २५ वर्षीय उमेश लामा फरार भएको जनाएको छ।

झापाकै मेचीनगर नगरपालिका तेलिबारीमा प्रदेश–१–०४–०१४प ३३४५ नम्बरको मोटरसाइकल र प्रदेश १–०४–००१ प ३९९५ नम्बरको मोटरसाइकल एकापसमा जुधेर दुर्घटना भएको थियो। राती भएको दुर्घटनामा ४ जना घाइते भएका थिए। घाइते हुनेहरुमा ३३४५ नम्बरको मोटरसाइकल चालक झापा मेचीनगर नगरपालिका– ८ का २१ वर्षीय अनिष गिरी र पछाडि सवार १८ वर्षीय अभिषेक श्रेष्ठ तथा ३९९५ नम्बरको मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिकाका २१ वर्षीय निकेश शिवाकोटी र पछाडि सवार झापा मेचीनगर नगरपालिका– ८ का २१ वर्षीय प्रवीण मेचे रहेको प्रवक्ता राईले जानकारी दिए।

उनका अनुसार घाइतेमध्ये अभिषेक श्रेष्ठको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती साढे १२ बजे मृत्यु भएको थियो। घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमै उपचार भइरहेको छ।

कात्तिक २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्