एमसीसी पारित गर्न सत्तारुढ दलका नेताले झूट बोले – केपी ओली

मोरङ – पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पारित गर्न सत्तारुढ दलका नेताहरुले झूट बोलेको बताएका छन्।

विराटनगर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमसीसी पारित गर्न झूटको अभिव्यक्ति दिएको बताएका हुन्।

चाडपर्वका अवसरमा आयोजना हुने चियापान कार्यक्रमलाई सम्बोधन गर्न विराटनगर आएका ओलीले एमसीसी पारित गर्न प्रधानमन्त्री देउवाले पत्र लेखेको र अध्यक्ष दाहालले नलेखेको बताएर दुईमध्ये एकले ढाँटेको दाबी गरे।

उनले वर्तमान सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री देउवा, सरकारका मन्त्री र विवादमा पर्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्चका सबै न्यायाधीशहरु राजीनामा दिनुपर्ने खालका भएको जिकिर गरे।

‘जुन दिन असंवैधानिक फैसला गरियो र त्यही फैसलाका आधारमा प्रतिनिधिसभाको पुनःस्थापना गरियो, त्यही दिनदेखि प्रधानन्यायाधीश, फैसला गर्ने अन्य न्यायाधीश राजीनामाका लागि योग्य हुनुभयो’, अध्यक्ष ओलीले भने।

सर्वोच्च अदालतले संविधानको व्याख्या गर्ने बताउँदै ओलीले संवैधानिक अधिकारभन्दा बाहिर गएर मनपरी व्याख्या गरिएको उल्लेख गरे।

कात्तिक २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्