एक हप्तामै सरकार ढाल्न सक्छाैँः ओली

मोरङ – एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार एमालेले चाहे एक हप्तामै ढाल्न सक्ने बताएका छन्।

विराटनगरमा सोमबार आयोजित चाडबाड चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार पञ्चमुखी भएर पाँचतिर फर्किएजस्तो भएको बताएका थिए।

उद्देश्यविहीन पञ्चमुखी सरकार सातामै ढाल्न सक्ने बताउँदै उनले भने, ‘सरकारलाई कामको हतारो देखिँदैन। पाँचतिर फर्किएकाहरुको उद्देश्य केही छैन। हामीले चाह्यौँ भने सरकार हप्ता दिनमै ढाल्न सक्छौँ। तर, अहिले हतार छैन। आफैँ ढल्छन्।’

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको नेतृत्व गरिरहेका दुई शीर्ष नेताको एमसीसीबारे बुझाइ नै फरक र झुटो आएको बताए।

उनले भने, ‘प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न पत्र पठाएको भनिरहँदा अर्का सत्तासाझेदार दल माओवादी अध्यक्ष पुष्पकमल दाहालले पत्र नपठाएको अभिव्यक्ति दिए। यहाँ कसले झुट बोलिरहेका छन्।’

सर्वाेच्च अदालतलाई मर्यादित र निष्ठाका रूपमा लिएको बताउँदै अध्यक्ष ओलीले पछिल्लो समय अदालतले सम्मानजनक फैसला नगरेको आरोप लगाए।

उनले भने, ‘हाम्रो अदालतले सम्मानजनक फैसला गरेन। संविधानबाहिर गएर फैसला गरेको छ। यसरी नै अदालतले फैसला गर्दै गए लोकतन्त्र र जनताको विश्वासमा ठेस पुग्छ। संसद् विघटन बदरको फैसला गर्नुको पछाडि पनि सेटिङ, लेनदेनको विषय रहेछ। कसैलाई मन्त्री त कसैलाई राजदूत बन्ने रहर रहेछ।’

संसद् विघटन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अदालतले परमादेश गर्दा राष्ट्रपतिको अधिकार प्रयोग भएको उनले बताए। उक्त परमादेश संविधानविपरीत रहेको उनको भनाइ छ।

१ सय २१ सिटसहितको ठूलो दल एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको उम्मेदवारी दिन नपाउने अदालतको भनाइप्रति आक्रोश व्यक्त गरे।

ओलीले भने, ‘जनताले मलाई भोट दिएर जिताएका छन्। मुलुकको ठूलो दलको नेता भए पनि अदालतबाट प्रधानमन्त्री हुनबाट वञ्चित गराइने भएको छ। अदालतको यो अत्यन्त अलोकप्रिय, अलोकतान्त्रिक र असंवैधानिक फैसला छ। सर्वोच्चको काम संविधान व्याख्या गर्ने हो न कि फेर्न वा जथाभावी गर्ने।’ उनले अदालतले सम्मानजनक र निष्पक्ष फैसला गर्न नसकेको गुनासो गरे।

कात्तिक २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्