पसलेको हत्या आरोपमा एक जना पक्राउ

साङ्केतिक तस्बिर

कैलाली – कैलालीमा पसलेको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका–३ का १८ वर्षीय जीवन ठकुरी शाही छन्।

कैलालीको घोडाघोडी नगरपालिका घर भई मोहन्याल गाउँपालिका–सिम्ली खोलामा पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय पदम आचार्यको शाहीले रड प्रहार गरी हत्या गरेको आरोप छ।

मोहन्याल गाउँपालिका–४ स्थित महरा निर्माण सेवाको टिपरमा सहजकर्ताको काम गर्दै आएका शाहीले मृतक आचार्यको पसलमा खाना खाने गरेका थिए। तिहारका बेला उनी उक्त निर्माण सेवाको रेखदेखमा खटिएका थिए।

आइतबार राति शाही र आचार्यबीच पसलमा झगडा भएको प्रहरीले जनाएको छ। आचार्यको घटनास्थलमै मृत्यु भएको थियो।

घटनापछि फरार भएका शाहीलाई बाँके प्रहरीको सहयोगमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सुखडको टोलीले नेपालगञ्जबाट पक्राउ गरेको हो।

कात्तिक २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्