कैदीबन्दीले मोरङ कारागारका चौकीदार र नाइकेलाई कोठामा थुने

मोरङ – विराटनगरस्थित कारागार कार्यालय मोरङमा कैदीबन्दीहरुले कारागारका चौकीदार र नाइकेलाई कोठाभित्र थुनेका छन्।

मंगलबार बिहानबाट कारागारका चौकीदार किरण गुरुङले कैदीबन्दीमाथि ज्यादती गरेको आरोपमा असन्तुष्ट कैदीबन्दीहरु आन्दोलनमा उत्रिएका हुन्।

उनीहरुका अनुसार चौकीदार गुरुङकै निर्देशनमा कारागारमा रहेका नाइके र सहायक नाइकेहरुले यातना दिदै अएका छन्। चौकीदार गुरुङसहित नाइकेहरुको ज्यादती र यातना सहन नसकेको जनाउँदै १४ जनालाई कारागार भित्रकै कोठामा थुनेर राखेका थिए।

चौकीदार र नाइकेको ज्यादती सहन नसकेपछि चौकीदार गुरुङसहित निर्मल ढकाल, पदम कुमार लिम्बु, रामकुमार राई, रमेश मण्डल, विशाल मोक्तान, किरण गुरुङ, शेखर राई, डिल्ली देवान, रोशन दाहाल, सूर्यदीप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई, बविहाङ राईलाई कैदीबन्दीहरुले एउटा कोठामा थुनिदिएका थिए ।

उनीहरुलाई प्रहरी सुरक्षा घेरामा राखेको जनाएको छ। यसक्रममा दुई पक्षबीच दोहोरो झडप समेत भएको कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले जानकारी दिए।

१४ जनालाई हाल कारागार बाहिर राखेपछि आन्दोलित कैदीबन्दी केही मथ्थर भएको पोखरेलले बताए। झडपका क्रममा चौकीदार गुरुङसहित नाइकेहरु शेखर राई, निर्मल ढकाल, बिशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएको कारागारले जनाएको छ।

कात्तिक २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्