मोरङ कारागारमा कैदीहरुबीच झडप, १४ कैदीबन्दीलाई सारियो

मोरङ– विराटनगरस्थित जिल्ला कारागार मोरङमा झडप भएपछि १४ जना कैदीबन्दीलाई अन्यत्र सारिएको छ। कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलका अनुसार मंगलबार दोहोरो झडपपछि १४ जना कैदीबन्दीलाई सुनसरी र झापा लगिएको छ।

निमित्त प्रमुख पोखरेलका अनुसार मोरङ कारागारबाट सुरक्षाका दृष्टिकोणबाट कारागारका चौकीदार किरण गुरुङसहित १४ जनालाई अन्यत्र सारिएको हो। जसमा जिल्ला कारागार झापामा ९ र सुनसरीको झुम्का कारागारमा ५ जना पुर्‍याइएको छ। कारागारमा चौकीदार, नाइके तथा कैदीबन्दीबीच दोहोरो झडपमा ६ जना घाइते भएका थिए।

कारागारका चौकीदार किरण गुरुङ, कैदबन्दीहरु सूर्यदीप गुप्ता, शेखर राई, पदमकुमार लिम्बू र निर्मल ढकाललाई सुनसरीको झुम्का कारागार पुर्‍याएको छ।

त्यसैगरि एलएस नेपाली, रामकुमार लिम्बू, रमेश मण्डल, डिल्ली देवान, रोशन दाहाल, विशाल मोक्तान तामाङ, कपिलकुमार साह, राजु राई र बबीहाङ राईलाई झापा पुर्‍याइएको पोखरेलले बताए।

चौकीदार गुरुङसहित निर्मल ढकाल, विशाल मोक्तान, शेखर राई, डिल्ली देवान र सूर्यदीप गुप्ता मंगलबार बिहान भएको दोहोरो झडपमा घाइते भएका थिए। उनीहरुको विराटनगरको कोसी अस्पतालमा उपचार गरिएको पोखरेलले जानकारी दिए। उनका अनुसार सुरक्षाका कारण चौकीदार गुरुङलाई अन्यत्र लगिएपछि हाल ज्यान मार्ने उद्योग मुद्दाका कैदी कार्तिक कामतलाई कामचलाउ चौकीदारको जिम्मेवारी दिइएको छ।

चौकीदार गुरुङको समूहमा रहेका नाइके र भाइनाइकेको समूहले अत्याचार गर्ने तथा चरम यातना दिने गरेको भन्दै असन्तुष्ट बनेका अरु कैदीबन्दी झडपमा उत्रिएको कारागार स्रोतको भनाइ छ। झडपका क्रममा मुढा बनाउने भाटा लगायतको प्रयोग भएको पाइएको छ।

आन्दोलनमा उत्रिएका कैदीबन्दीले गुरुङसहित १४ जना कैदीबन्दीलाई कारागारभित्रकै एउटा कोठामा थुनेरसमेत राखेका थिए। मोरङ कारागारमा पछिल्लो समय विवाद हुँदै आएको छ।

काठमाडौँको डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका अभिषेक गिरीलाई मोरङ ल्याउने निर्णयसँगै विवाद हुँदै आएको छ। गिरी अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका छन्। तर कैदीबन्दीका आफन्त र कारागारभित्र रहेका अरु कैदीबन्दीसमेत आन्दोलित बनेपछि उनलाई सप्तरी कारागार लगिएको छ।

गिरी डिल्लीबजार लैजानुअघि मोरङ कारागारमा चौकीदारका रुपमा रहेका थिए। कारागारभित्रबाट अपराधिक गतिविधि गरिरहेको खुलेपछि गिरीलाई २०७४ साल चैत २३ गते डिल्लीबजार स्थानान्तरण गरिएको थियो। गिरीलाई डिल्लीबजार पठाएपछि मोरङमा चौकीदारको जिम्मेवारी नवीन राईलाई दिइएको थियो। पुनः गिरीलाई मोरङ ल्याइने भएपछि जिम्मेवारीमुक्त गर्दै राईलाई गत असोज १८ गते झुम्का कारागार लगिएको थियो। राईलाई झुम्का लगिएपछि किरण गुरुङलाई मोरङ कारागारमा चौकीदारको जिम्मेवारी दिइएको थियो।

चौकीदारले कारागारभित्रको टेलिफोन, पसल र खानाबाट दैनिक राम्रो आम्दानी गर्ने गरेको बताइन्छ। हाल मोरङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिको छ।

हाल २ सय ५० जना क्षमताको मोरङ कारागारमा ८ सय ९७ जना कैदीबन्दी रहेका छन्।

कात्तिक २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्