प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलन अझै चर्काउन पूर्व न्यायाधीशहरुको आग्रह

काठमाडौँ– सर्वोच्च अदालतका पूर्वन्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलन अझै चर्काउन नेपाल बार एशोसिएशनलाई आग्रह गरेका छन्।

सर्वोच्च अदालतका पूर्वन्यायाधीशद्वय टोपबहादुर सिंह र बलराम केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि संसदले महाअभियोग लगाउनुपर्ने धारणा समेत राखे।

मंगलबार संवैधानिक कानुन व्यवसायी मञ्चले काठमाडौँमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वन्यायाधीश सिंहले राजीनामा माग्दा पनि बेवास्ता गरेको भन्दै प्रधानन्यायाधीश जबरामाथि आक्रोश व्यक्त गरे।

उनले प्रधानन्यायाधीश जबरालाई मूल पुरुषको संज्ञा दिँदै भने, ‘शक्ति पृथकीकरणको सिद्धान्त संविधानमा छ। तर मूल पुरुषले यो कुनै पनि वास्ता गरेको छैन। व्यवस्थापिकाको अधिकार अपहरण गर्नुभयो, चुप लागेर बस्यो। यस्तो अवस्थामा बार, सर्वोच्च अदालतका न्यायाधीशहरु, नागरिक समाजका अगुवाहरुले जुन आन्दोलन अघि बढाउनुभएको छ। त्यसलाई देशव्यापी बनाएर सो समस्या समाधान गर्नु पर्दछ।’

महाअभियोगको हतियार त्यसै बसेर प्रधानन्यायाधीशले मार्ग प्रशस्त नगरेको अर्का पूर्व न्यायाधीश केसीको भनाइ छ। उनले महाअभियोगको हतियार लगाएर भएपनि प्रधानन्यायाधीशलाई राजीनामा दिन बाध्य बनाउने गरी आन्दोलन गर्न नेपाल बारसहितका कानुन व्यवसायीहरुलाई आग्रह गरे।

पूर्व न्यायाधीश केसीले भने, ‘महाअभियोगको हतियार त्यसै बसेर यो बिग्रिएको हो। यो अहिले बिग्रिएको होइन। २०६८ सालतिरै बिग्रिएको हो। यसलाई सम्हालेर न्यायपालिका जोगाउन नेपाल बारसहितका कानुन व्यवसायीहरुले जारी राखेको आन्दोलनलाई अझै प्रभावकारी बनाउनु पर्दछ।’

वरिष्ठ अधिवक्ता शम्भु थापाले हठ र लहड राखेर पदमा बस्ने काम नगर्न प्रधानन्यायाधीश जबरालाई सुझाव दिए। उनले न्यायपालिका न्याय प्रर्दशकको रुपमा रहे पनि त्यसलाई बिगार्ने काम प्रधानन्यायाधीशले गरेको उल्लेख गर्दै अब त्यसरी पदमा बसिरहने नमिल्ने बताए।

वरिष्ठ अधिवक्ता थापाले भने, ‘न्यायपालिका न्यायमार्ग प्रर्दशकको रुपमा छ। तर चिफ जस्टिस त्यसलाई बिगार्न उद्धत भएको हुनाले मेरो अनुरोध छ– यो हठ र लहडमा राखेर पदमा नबस्नुहोस्। केही हिसाब मिलाउनु छ भने पनि छोड्दिनुस्।’

वरिष्ठ अधिवक्ता थापाले यति कमजोर प्रधानन्यायाधीश आफूले अहिलेसम्म नदेखेको बताए।

कात्तिक २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्