डोल्पामा २८० घरधुरीलाई निःशुल्क सोलार, पहुँचवालाले मात्रै पाएको स्थानीयको गुनासो

फाइल फोटो।

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकाले विभिन्न वडाका २८० घरधुरीलाई निःशुल्क सोलार वितरण गरेको छ।

वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र काठमाडौँको अनुदान सहयोगमा नगरपालिकाले वडा नं १ का ४०, वडा नं २ का ७१, वडा नं ३ का ३५, वडा नं ४ का ३५, वडा नं ७ का ४०, वडा नं ८ का ३५ घरधुरीलाई सोलार वितरण गरेको हो।

कार्यवाहक नगरप्रमुख चन्द्राकुमारी बुढाका रोहबरमा ८० वाटको सोलार, ब्याट्री, तार, बल्बलगायत सामान निःशुल्क वितरण गरिएको सौर्य इनर्जी डोल्पाका प्रतिनिधि लिलराज रोकायले जानकारी दिए। डोल्पासम्म सिधा यातायातको सुविधा नहुँदा वर्षात्‌का समयमा एक दर्जन धेरै ठाउँमा गाडी परिवर्तन गर्दै अनेक दुःख कष्ट झेलेर सोलार ढुवानी गर्न सफल भएको उनको भनाइ छ।

‘जाजरकोटसम्म ढुवानी गर्न सजिलो छ, त्यहाँदेखि डोल्पासम्म पुग्न बीचबीचमा नदी र खोलामा पुल छैनन्। दर्जन धेरै ठाउँमा गाडी परिवर्तन गर्दा ढुवानीमा घाटा व्यहोर्नु पर्‍यो,’ उनले गुनासो गरे।

दैनिक घण्टौँ लोडसेडिङको मारले अध्यारोमै जीवन गुजारा गरिरहेका ग्रामीण गाउँ बस्तीका नागरिकले सोलार पाएपछि खुसी छन्।

सबैले पाएनन् सोलार


नगरपालिकाका एक हजार ७०० घरधुरीले सोलारको लागि आवेदन दिएका थिए। माग गरेजति सबै सोलार नपाएपछि आवेदन दिएका सबै घरधुरीले सोलार नपाएको नगरपालिकाले जनाएको छ।

‘सुरुमा रु १०० र नागरिकता पेश गर्दा अनुदानमा सोलार पाइने भयो भनेर धेरै खुसी थियौँ। अहिले अन्तिममा आएर नगरपालिकाले ऊर्जाले पठाएको नामलिष्टमा नाम छैन भनेर भन्यो,’ त्रिपुरासुन्दरी –१ का प्रेम शाहीले भने, ‘गरिब विपन्नका लागि सोलार भनिएको थियो। कतिपय हुनेखाने, नेता र जनप्रतिनिधिले नै सोलार पाए, वास्तविक विपन्न पनि छुटेका छन्।’

कात्तिक २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्