वर्षाका कारण बाजुरामा दुई करोडभन्दा बढीको अन्नबालीमा क्षति

बाजुरा– गत असोज ३१ देखि कात्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लामा दुई करोडभन्दा बढीको क्षति भएको छ। जिल्लाका दुई हजार २०९ कृषकका ३९२ हेक्टर क्षेत्रफलमा लगाइएको ९४० मेट्रिक टन धान र कोदो बालीको नोक्सानी भएको छ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार दुई करोड ७१ लाख २५ हजार ५५० रुपैयाँ बराबरको बालीमा क्षति भएको हो।

केन्द्रका सूचना अधिकारी मीनप्रसाद जोशीले जिल्लामा धान २५६ हेक्टरमा ७१५ मेट्रिक टन क्षति भएको जानकारी दिए। उनका अनुसार धानबालीको दुई करोड १४ लाख १८ हजार ८०० बराबरको क्षति भएको हो।

त्यसैगरी कोदो १३६ हेक्टरमा लगाएको २२४ मेट्रिक टन क्षति भएको छ र यसको मूल्य रु ५७ लाख ६ हजार ७५० बराबरको भएको जनाइएको छ। अनुमानित तथ्याङ्क सङ्कलन गरी कृषकलाई उचित राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा पठाइएको सूचना अधिकारी जोशीले बताए।

सधैँजसो खाद्य संकट भोग्नुपर्ने जिल्लाले यस वर्ष थप चुनौती व्यहोर्नुपर्ने जनाइएको छ।

खाद्य डिपोमा चामल सकियो


जिल्लाको मार्तडीमा रहेका खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडका डिपोमा चामल अभाव भएको छ।

जिल्लाभरको खाद्यान्न सङ्कट समाधानका लागि स्थापना भएको सो डिपोमा चामलको अभाव भएपछि चामल लिन पुगेका सेवा ग्राही रित्तो हात फर्किने गरेका छन्।

खाद्य डिपोमा चामल यही कात्तिक १७ गतेसम्म वितरण भएको र यसपछि वितरण गर्न नसकेको लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले बताए। डिपोमा चामल सकिएको जनाउँदै आकस्मिकबाहेक बिक्रीमा रोक लगाएको डिपो प्रमुख ओझाको भनाइ छ।

कात्तिक २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्