धादिङमा दुई बस आपसमा ठोक्किँदा ३५ जना घाइते

सांकेतिक तस्बिर

धादिङ– धादिङको कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ मा आज भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन्।

साँघुरो घुम्तीमा दुईवटा बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

धादिङबेंसीबाट चितवन गइरहेको ना ५ ख ३२३५ नंको बस र काठमाडौँबाट धादिङबेँसी हुँदै फूलखर्कतर्फ आउँदै गरेको ना ७ ख ५८२८ नंको बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी जागेश्वर भण्डारीले बताए।

दुर्घटनामा घाइते भएका सबैको धादिङ अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये गम्भीर अवस्थाका दुईजनाको थप उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको छ। बाँकी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

केही यात्रुलाई बसमा चेपिएको अवस्थामा समेत उद्धार गरिएको थियो। दुर्घटनापछि सडक अवरुद्ध भएको थियो। अवरुद्ध सडकलाई डोजरको सहायताले सवारी साधन हटाएर यातायात सञ्चालन गराइएको बताइएको छ।

कात्तिक २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्