छठका लागि घाट सजाउने क्रममा डुबेर एक जनाको मृत्यु, एक बेपत्ता

मोरङ– छठ पर्वको पूर्व सन्ध्यामा मोरङको बक्राह खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।

रंगेली नगरपालिका भएर बग्ने बक्राह खोलामा छठका लागि घाट सिंगार्दै नुहाउने क्रममा युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।

रंगेलीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनमोल खड्काका अनुसार भारतको मधेपुरा जिल्लाबाट रंगेली ७ स्थित आफन्तकहाँ छठ मनाउनका लागि आएका २१ वर्षीय बिटु साहको मृत्यु भएको हो।

पूजाका लागि घाट सिंगारेपछि नुहाउन खोला पसेका ४ जनामध्ये डुबेका साहलाई उद्धार गरिएको थियो। साहलाई उद्धार गरिएसँगै उपचारका लागि रंगेली अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरि साहसँगै नुहाउन खोलामा पसेका १८ वर्षीय राजा साह बेपत्ता रहेका छन्। भारत मधेपुरा सिंघेश्वर ग्रामथान पञ्चायतका दुवै जना रंगेलीस्थित आफन्तकहाँ छठ मनाउन आएका हुन्।

बेपत्ता अवस्थामा रहेका साहलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले संयुक्त रुपमा खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

कात्तिक २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्