सुनसरीमा चुलियो एमालेभित्रको आन्तरिक विवाद

मोरङ – सुनसरीमा एमालेभित्रको आन्तरिक विवाद तीव्र रूपमा फैलिएको छ। केही समयदेखि सतहमा देखिँदै आएको विवादलाई मत्थर पार्न बुधबार आयोजना गरिएको जिल्ला कमिटीको पूर्ण बैठकमा जनप्रतिनिधिले स्टेजमा माइक्रोफोन खोसेपछि विवाद थप चुलिएको हो।

सुनसरीको इनरुवामा बुधबार आयोजित बैठकमा अध्यक्षताको विषय उत्कर्षमा पुग्दा विवाद बल्झिएको हो। कार्यक्रमका अध्यक्षतामा इटहरी उपमहानगर प्रमुख द्वारिकालाल चौधरीले दाबी गरेपछि बढेको विवाद अन्ततः स्थगन भएको थियो।

चौधरीले पार्टी जिल्ला कमिटीको पूर्ण बैठक सञ्चालनमा आपत्ति जनाएका थिए। पार्टी ०७५ जेठ २ गतेअघिको अवस्थामा भए वा १० बुँदे सहमति कार्यान्वयनको अवस्थामा गए रमेश बस्नेत वा जेठ २ को अवस्थामा नफर्किएको भए रेवतीरमण भण्डारीले अध्यक्षता गर्नुपर्ने देखिन्छ।

तर, बैठकमा दुवै जनाको अध्यक्षतालाई लिएर विवाद देखिएपछि मेयर चौधरीले आफ्नो दाबी गरेका थिए।

बस्नेत र भण्डारीले दाबी कायम राखिरहँदा एमाले सुनसरीमा विवादले निकास पाउन सकेको छैन। चौधरीले विवादबीच पार्टी केन्द्रीय सदस्य धर्मराज निरौलाको अध्यक्षतामा सम्पन्न भएकामा समेत आपत्ति जनाए।

 

 

उनले बैठक सञ्चालन जिल्ला कमिटीका पदाधिकारीले गर्नुपर्नेमा प्रदेश कमिटी सदस्य खेमराज पोखरेलले गरेको बताए।

उनले अवैधानिक कमिटीबाट गरिएको बैठकको औचित्य नभएको उल्लेख गरेका छन्।

अर्कोतर्फ, रेवतीरमण भण्डारीका अनुसार कार्यक्रममा आफूहरूबीच अध्यक्षताका लागि कुरा चलिरहँदा चौधरीले आफू अध्यक्ष हुनुपर्ने बताएका थिए।

सुनसरीमा विवाद देखिए पनि पार्टी महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा कुनै रुकावट नहुने उनको भनाइ छ। सुनसरीमा शुक्रबारबाट कात्तिक ३० सम्म महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया हुने उनले बताए।

बैठकपूर्व कार्यवाहक अध्यक्ष रहेका बस्नेतले पार्टी विधि र पद्धतिअनुसार नचलेको भन्दै एकताका लागि आयोजना गर्ने भनिएको कार्यक्रम बहिष्कार गरेका थिए।

यद्यपि, खेमराज पोखरेल संयोजक रहेको जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा भएको छ। जसमा कमिटी उपाध्यक्षमा निलम खनाल र नन्दकुमार बस्नेत छन्।

त्यसैगरी, सचिवमा पर्शुराम यादव र शत्रुघन यादव छन् भने उपसचिवमा लिलम बस्नेत र लोकेश निरौला छन्। कमिटीले पुस मसान्तसम्म जिल्ला अधिवेशन गर्ने समयावधि पाएको छ।

कात्तिक २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्