दाङ – धार्मिक तथा पर्यटकीय महत्वको दाङको बाह्रकुने ताल क्षेत्र संरक्षण तथा प्रचारप्रसारको अभावमा ओझेममा परेको छ ।

घोराही उपमहानगरपालिका–१३ मा रहेको बराह मन्दिर ८० बिगाह क्षेत्रमा फैलिएको छ । सँगै रहेको तालका १२ वटा कुना रहेकाले नाम नै बाह्रकुने ताल रहन गएको भनाइ छ ।

बराह मन्दिरमा भाकल गरेमा पुत्र लाम हुने विश्वास रही आएको छ । मन्दिर क्षेत्रमा वैशको रुख पाइने श्री बराह क्षेत्र संरक्षण सम्वर्द्धन समिति बाह्रकुने दहका अध्यक्ष टेमण बुढा मगरले जानकारी दिए । मगरजातीका पुजारी हुने बराह मन्दिरमा नुन नखाइ पूजा गर्नु पर्ने मान्यता छ, सोही कारण बिहान ११ बजेसम्म मात्रै पुजारी मन्दिरमा हुने उनले जानकारी दिए।

बाह्रकुने दह क्षेत्रमा बराह, गणेश, विष्णु बराह, बरहीदेविको मन्दिर छ । तीनवटा मन्दिर तालको किनारमा छन् भने एउटा मन्दिर तालको बीचमा छ । नगरपालिकाले बह्राकुने ताल क्षेत्रको संरक्षणका लागि खासै काम नगरेको मगरले बताएका छन् । अहिले समितिले नै संरक्षणको जिम्मा लिएको उनले जानकारी दिए ।

संरक्षणका साथै प्रचार–प्रसार गर्न सकेमा आन्तरिक तथा बाहृय पर्यटकको आवागमन बढाउन सकिने उनले बताए। अहिले स्थानीय बासिन्दाहरु बराह मन्दिरमा पूजा गर्न तथा बाह्रकुने ताल क्षेत्रको अवलोकनका लागि जाने गरेका छन् ।

पिकनिकसहित छोटो अवधिको घुमघामका लागि पुग्नेहरु अधिकांश स्थानीय बासिन्दा नै हुन्छन् । यस क्षेत्रमा माघे संक्रान्तिमा ठूलो मेला लाग्ने पनि मगरले जानकारी दिए ।