चार धामलाई शिव सर्किट कनेक्सनको रुपमा विकास गर्नुपर्छ – मन्त्री आले

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले भगवान शिवले बास गरेका चारधामलाई समेटेर शिव सर्किट कनेक्सनको रुपमा विकास गर्नुपर्ने बताएका छन्।

काठमाडौँमा ‘पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली’ को बिहीबार उद्घाटन गर्दै मन्त्री आलेले भगवान शिवले बास गरेका चार धाम पशुपतिनाथ, काशी विश्वनाथ, केदारनाथ र बद्रीनाथलाई शिव सर्किट कनेक्सनको रुपमा विकास गर्नुपर्ने बताएका हुन्।

शिव सर्किटको विकास गर्न सकेमा हिन्दू धर्मावलम्बीहरुले चारवटै धामको दर्शन गर्ने अवसर पाउने र सो शिवालयहरुप्रति अझै धार्मिक आस्था बढेर जाने उनको भनाइ छ।

‘भगवान शिवले बास गरेका चारवटा धाम पशुपतिनाथ, काशी–विश्वनाथ, केदारनाथ र बद्रीनाथलाई शिव सर्किट कनेक्सनको रुपमा विकास गरी संसारभरिका अर्बौँ हिन्दू धर्मावलम्बीहरुलाई चारै धामको दर्शन गर्ने अवसर सिर्जना गरौँ’, मन्त्री आलेले भने, ‘यो सर्किटको कन्सेप्टले यी शिवालयहरुप्रति अझै धार्मिक आस्थाको गरिमा बढेर जानेछ।’

उनले नेपाल–भारत सम्बन्ध प्राचीन, मौलिक र सभ्यताको सम्बन्ध भएको बताए। विश्वनाथ मन्दिरमा दर्शन गर्ने हिन्दू दर्शनार्थीले पशुपतिनाथको पनि दर्शन गर्नुपर्ने पौराणिक मान्यता रहेको उल्लेख गर्दै उनले पशुपतिनाथदेखि काशी–विश्वनाथसम्मको मोटरसाइकल ¥यालीले नेपाल–भारत सम्बन्ध प्रगाढ हुने र हिन्दू धर्मको गरिमा उच्च रहने विश्वास व्यक्त गरे।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालको पशुपतिनाथ मन्दिर र भारतको काशी–विश्वनाथ मन्दिर दुई देशको सभ्यताको प्रमुख चिन्ह भएको बताए। यी दुई धार्मिकस्थलले दुई देशको समाजलाई जोडेको र सम्बन्धलाई निरन्तरता दिने प्रतीकका रुपमा पनि रहेको उनले उल्लेख गरे।

बिहीबार नै दर्जनौँ युवाहरुले ‘पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली’ काठमाडौँको पशुपतिनाथबाट प्रारम्भ गरेका छन्। ५० भन्दा बढी मोटरसाइकलमा सवार राइडरहरू झन्डै ९ सय किलोमिटर दूरी पूरा गरेर कार्तिक ३० गते नेपाल फर्कने कार्यक्रम रहेको छ।

कात्तिक २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्