मोरङ कारागारमा कैदीको मृत्यु, हत्याको आशंका

मोरङ – विराटनगरस्थित जिल्ला कारागार मोरङमा एक कैदीबन्दीको शंकास्पद मृत्यु भएको छ।

कारागारभित्र दुई समूहबीच झडप भएको दुई दिन नबित्दै जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका ४३ वर्षीय नारायण थापाको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।

काठमाडौंको डिल्लीबजार कारागारमा रहेका अभिषेक गिरीलाई कार्तिक १६ गते विराटनगर स्थानान्तरण गर्ने विषयमा मोरङ कारागारमा तनाव हुँदै आएको छ। गिरीलाई विराटनगर ल्याउने चर्चासँगै कारागारमा रहेका कैदीबन्दी र उनीहरुका आफन्तले आन्दोलन गर्दै आएका हुन्। गिरीलाई मोरङ कारागारमा भित्र्याउन नहुने पक्षमा थापा रहेका थिए।

कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले विगत ६ वर्षदेखि थापा जबरजस्ती करणी मुद्दाको सजाय भुक्तान गर्दै आइरहेको बताए। प्रमुख पोखरेलका अनुसार थापाले रातिदेखि आफ्नो स्वास्थ्यमा समस्या देखिएको बताएका थिए। राति श्वासप्रश्वासमा समस्या र पेट दुखेपछि थापालाई अस्पताल लगिएको प्रमुख पोखरेलले जानकारी दिए। थापालाई विराटनगरस्थित कोशी अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको पोखरेलले बताए।

यसअघि मंगलबार कारागारभित्र गुण्डा नाइके गिरीको योजनामा झडप भएको कारागार स्रोतको भनाइ छ। सो झडपमा ६ जना कैदीबन्दी घाइते भएका थिए। जसमा थापा पनि परेका थिए। झडपपछि कारागार प्रशासनले गिरीको विपक्षमा रहेका चौकीदार किरण गुरुङसहित १४ कैदीबन्दीलाई सुनसरी, झापा र इलाम पुर्‍याएको थियो। थापाको भने स्थानान्तरण गरिएको थिएन।

कारागार प्रशासनले चौकीदार गुरुङको सरुवासँगै गिरी पक्षका कार्तिक कामतलाई जिम्मेवारी दिएको छ। कामत चौकीदारको जिम्मेवारी पाएको दुईदिनभित्र थापाको मृत्यु हुँदा थप शंका उब्जिएको हो।

कात्तिक २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्