जनगणना विकास निर्माणका हरेक कुराका लागि धेरै महत्वपूर्ण – सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटा।

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय आवश्यक परिपूर्ति हुने गरी जनगणनाको कामलाई सफलतापूर्वक सम्पन्न गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।

सभामुख सापकोटाले जनगणना मुलुकको सुशासन, समृद्धि र विकास निर्माणका लागि धेरै महत्वपूर्ण विषय भएको उल्लेख गरे।
केन्द्रीय तथ्यांक विभागका पदाधिकारीसँग शनिबार आफ्नो र परिवारको विवरण संकलन गराउँदै उनले सही तथ्यांक संकलनका लागि उच्च सतर्कताका साथ काम गर्न सबै गणकहरुलाई अनुरोध गरे।

‘जनगणना राष्ट्रको यति जनसंख्या छ भनेर निकाल्ने कुरामात्रै होइन। यो सुशासनको लागि, समृद्धिका लागि, विकास निर्माणको लागि, हरेक कुराहरुका लागि धेरै महत्वपूर्ण छ’, सभामुख सापकोटाले भने, ‘त्यसकारण हामी सबैले संकल्प गरौं, जनगणनालाई सफलतापूर्वक हाम्रो राष्ट्रको आवश्यकता परिपूर्ति गर्ने गरी सफल पार्नका लागि लागौंं। म पनि आफ्नो तर्फबाट सघाउने प्रतिबद्धता व्यक्त गर्दछु।’

उनले त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन गणकहरुको परिचालनमा उचित ध्यान दिन केन्द्रीय तथ्यांक विभागका पदाधिकारीहरुलाई सचेत गराए।

राष्ट्रपति विद्या भण्डारीले गत कात्तिक २५ गतेदेखि सुरु गरेको राष्ट्रिय जनगणना २०७८ मंसिर ९ गते सम्पन्न हुनेछ। ‘मेरो गणना : मेरो सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५०० सुपरिवेक्षक परिचालन गरिएको छ।

कात्तिक २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्