न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयले नै गर्नुपर्छः उपेन्द्र यादव

मोरङ- न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयले नै गर्नुपर्ने जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन्।

विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँगको संक्षिप्त कुराकानीमा अध्यक्ष यादवले न्यायालयमा राजनीतिक हस्तक्षेप गर्न नहुनेमा जोड दिए।

उनले भने, ‘न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयले नै गर्नुपर्छ। यसमाथि राजनीतिक हस्तक्षेप रहँदा त्यसको नकारात्मक असर पर्नेछ। त्यसैले न्यायालयको समस्यामा राजनीतिक दलले हस्तक्षेप गर्न मिल्दैन।’

त्यसैगरि अध्यक्ष यादवले हाल सत्ता साझेदार पाँच दलको गठबन्धनमा कुनै समस्या नरहेको बताएका थिए। उनका अनुसार पाँच दलबीचको गठबन्धन आउँदो संसदीय निर्वाचनसम्म एकढिक्का भएर रहने छ।

यद्धपि संविधानमा देखिएका त्रुटिलाई सच्चाउँदै अघि बढ्नुको विकल्प नभएको उनले बताए। ‘संविधान त्रुटिपूर्ण छ। जसका कारण अहिले समस्या देखिएको हो। यसलाई संशोधन गर्नुपर्छ,’ उनले भने।

राजनीतिक रुपमा विवादास्पद बनेको मिलेनियम च्यालेञ्ज कर्पोरेसनको सन्दर्भमा यादवले एमसीसी सम्झौतालाई पास गर्नका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताए। एमसीसीको विषयमा देखिएको अन्योलता हटाउनका लागि दलहरुले राष्ट्रिय हित र राष्ट्रिय सहमतिलाई अवलम्बन गर्नुपर्ने उनको भनाइ छ।

कात्तिक २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्