मोरङबाट ५७ एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत

मोरङ – नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि मोरङबाट ५७ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन्।

एमाले विराटनगर महानगर कमिटीका सचिव रोहित कोइरालाका अनुसार २५ गतेबाट सुरु भएको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया सहमतिबाटै टुङ्गिएको जानकारी दिए।

कार्तिक २५ गते मनोनयन दर्ता गराउनेदेखि आइतबारसम्म मोरङका ६ वटा निर्वाचन क्षेत्रमा कुल ५७ जना महाधिवेशन प्रतिनिधि छनोट भएको उनले बताए।

महाधिवेशन प्रतिनिधिका लागि १७० जनाको उम्मेदवारी परेको थियो। सबैलाई सर्वसम्मत गराउने क्रममा १५ महिला र ४२ खुला गरी ५७ जना प्रतिनिधि निर्विरोध भएका हुन्। मोरङको ६ वटा निर्वाचन क्षेत्रमा ५३, दलित क्षेत्रबाट ४ जना सर्वसम्मत भएको सचिव कोइरालाले जानकारी दिए। दलिततर्फ यसअघि नै सर्वसम्मत भएको थियो।

मोरङ क्षेत्र नम्बर ६ मा शनिबारसम्म मतदान हुने अवस्था रहेको थियो। मोरङमा रहेका शीर्ष तहका नेताहरुको पहलमा आइतबार सो क्षेत्रमा समेत सबैलाई सर्वसम्मत गराउन सफल भएको उनले बताए।

कात्तिक २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्