खुकुरी आक्रमणकारीलाई प्रहरीले कारबाही नगरेको पीडितको गुनासो

मोरङ – खुकुरी प्रहारबाट घाइते भएर निवेदन दिँदासमेत प्रहरीले आक्रमणकारीलाई कारबाही नगरेको पीडित अफाक आलमले गुनासो गरेका छन्।

विराटनगर महानगरपालिका–८ का आलममाथि कात्तिक २४ गते आर्थिक लेनदेनका क्रममा खुकुरी प्रहार भएको थियो।

विराटनगरमा पत्रकार सम्मेलनका क्रममा गुनासो पोखेका आलमले मोटरसाइकल खरिदका क्रममा पाँच हजार रुपैयाँ कमिसन नदिँदा खुकुरी प्रहार भएको बताएका छन्।

एक महिनाअघि सोही वडाका २४ वर्षीय सिराजुल मियाँसँग बिक्रीका लागि अफाकले मोटरसाइकल लिएका थिए।

सो मोटरसाइकल अफाकका छोरा मोहम्मद मुनु आलमले राख्ने भएपछि विवाद भएको थियो। मुनु आलमले मोटरसाइकल राख्ने भएपछि कमिसनबापतको ५ हजार रुपैयाँ सिराजुलले माग गर्दै आएका थिए।

सो रकम नपाएपछि सिराजुलले आफकलाई धम्की दिँदै आएको अफाककी श्रीमती हदिसा खातुनले जानकारी दिइन्। यस विषयमा खातुनले घटना भएको दिन कात्तिक २४ गते नै प्रहरीसमक्ष जाहेरी पनि दिएको बताइन्।

खातुनले पत्रकार सम्मेलनका क्रममा घटनामा ७ जनाले आफकमाथि खुकुरी प्रहार गर्दै निर्घात कुटपिट गरेको बताएकी छन्।

प्रहरीले आक्रमण गर्ने ७ जनालाई हालसम्म कुनै कारबाही नगरेको उनको गुनासो छ। हदिसाका अनुसार घटनामा सोही वडाका मोहम्मद उराजुल, सोनु मिया, अन्सारुल मियाँ, वाजिल मियाँ, सिराजुललगायत ७ जनाको समूहले खुकुरी प्रहार गरेका हुन्।

खुकुरी प्रहारबाट घाइते भएका अफाकले घटना भएको दिन नै प्रहरीसमक्ष उजुरी दिए पनि प्रहरीले हालसम्म पीडकलाई कारबाही नगरेको आरोप लगाएका छन्। उनका अनुसार घटनालाई साम्य बनाउन स्थानीय नेता लागिपरेका छन्।

 

कात्तिक २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्