शंखधर पार्कको निर्माण सकियो

भक्तपुर – नगर–नगर साझेदारी कार्यक्रम अन्तर्रगत काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा मध्यपुर थिमीस्थित शंखधर चोकमा निर्माण भएको शंखधर पार्कको उद्घाटन भएको छ।

पार्कको उद्घाटन काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले गरेका हुन्। उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका शाक्यले उपत्यकाका १२ वटा नगरपालिकालाई ती नगरपालिका क्षेत्र भित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि सहयोग गर्दै आएको जानकारी दिए।

‘शंखधर पार्क पनि त्यहि मध्येको एक हो,’ शाक्यले भने, ‘काठमाडौँ महानगरपालिकाले २०७७÷७८ को स्वीकृत नीति तथा कार्यक्रम बमोजिम नगर–नगर साझेदारी कार्यक्रम अन्र्तरगत धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि आर्थिक सहयोग गर्दै आएका छौँ । आज काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा यो पार्क निर्माणपछि उद्घाटन गर्ने चरणमा पुग्दा खुशी लागेको छ।’

प्रमुख शाक्यले कोही एक्लै अघि बढ्न नसक्ने भन्दै सबैको सहकार्यमा मात्रै काठमाडौँ उपत्यका र समग्र देशको विकास गर्न सकिने सन्देश दिन यस्तो कार्यक्रम अघि बढाएको पनि बताए।

‘हामीले जुन–जुन नगरपालिकासँग सम्वन्ध कायम गरेका छौँ ती–ती नगरपालिकासँग आत्मियता बढेको छ,’ उनले भने, ‘त्यहाँका स्थानीयमा पनि महानगरपालिका हाम्रो पनि हो, हामीले पनि मायाँ गर्नुपर्छ, महानगरलाई महानगर बनाउन हामीले सहयोग गर्नुपर्छ भन्ने भावना जागृह भएको छ।’

उहाँले काठमाडौँ महानगरपालिका सबै भन्दा पुरानो र साँस्कृतिक पालिका भएकाले अन्य नगरपालिकालाई पनि सांस्कृति सम्पदा संरक्षण र धार्मिक तथा पर्यटकीय पार्क निर्माणका लागि सहयोग गर्दै आएको बताए। पार्क निर्माणका लागि महानगरले दुई करोड सहयोग गरेको छ।

कर्यक्रमलाई सम्वोधन गर्दै मध्यपुर थिमी नथरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले काठमाडौँ महानगरपालिकाको उक्त सहयोगबाट करिब १९ रोपनी क्षेत्रफलमा पानीको झरना, झुण्डिएको बगैँचा, ढुंगेधारा, डबली, वाकिङ रोड निर्माण भएको उल्लेख गरे।

काठमाडौँ महानगरपालिकाको दुई करोड र मध्यपुर थिमीको चार करोड गरी जम्मा ६ करोडमा उक्त पार्कको निर्माण भएको मेयर श्रेष्ठले जानकारी दिए।

कात्तिक २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्