प्रधानन्यायाधीशको राजीनामा माग गर्दै मोरङका कानुन व्यवसायीद्वारा प्रदर्शन

मोरङ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै मोरङका कानुन व्यवसायीले प्रदर्शन गरेका छन्।

विराटनगरस्थित जिल्ला अदालत मोरङ र उच्च अदालत मोरङमा कानुन व्यवसायीले आइतबार दिउँसो ११ देखि १२ सम्म १ घण्टा काटोपट्टी बाँधेर प्रदर्शन गरेका थिए। पछिल्लो समय जबरा विपक्षमा कानुन व्यवासयीले चौतर्फी विरोध गर्दै आएका छन्।

मोरङको न्यायालयमा गरिएको शान्तिपूर्ण विरोधका क्रममा कानुन व्यवसायीले ‘न्यायालयको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ’ जस्ता नारा लगाएका थिए।

उच्च अदालत बार एसोसिएसनका सचिव प्रेमकुमार घिमिरेका अनुसार विरोधको कार्यक्रम निरन्तर मंगलबारसम्म रहनेछ।

विरोधमा उत्रिएका कानुन व्यवसायीले शान्तिपूर्ण विरोध कार्यक्रममा सुरक्षाकर्मीसहित हस्तक्षेप भएकामा न्यायालयको गरिमा, संवेदनशीलतामाथि प्रहार भएको जनाएका थिए।

मंगलबारसम्म निरन्तर १ घण्टा यसैप्रकारको विरोधका कार्यक्रम रहने जनाएको उच्च बार एसोसिएसन विराटनगरले न्यायालय क्षेत्रमा भएको सो घटना दुर्भाग्यपूर्ण भएको जनाएको छ।

विरोध प्रदर्शन कार्यक्रमपछि अदालतका नियमित कार्य सुचारु भएको उच्च अदालतका सूचना अधिकारी ओम सुवेदीले बताए।

कात्तिक २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्