जन्मदिन मनाउन भेला भएका युवाबीचको विवाद झडपमा परिणत, एकजनाको हत्या

सांकेतिक तस्बिर

विराटनगर – मोरङको बुढीगंगा गाउँपालिका–१ मा एकजनाको हत्या भएको छ । मदिरा सेवनपछि युवाबीच भएको झगडाले उग्र रुप लिँदा एकजनाको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार राति स्थानीय नानु लिम्बुको भतिजीको जन्मदिन मनाउँदै गर्दा दुईपक्षका युवाबीच झडप भएको हो।

बूढीगंगा–६ का २३ वर्षीय धनबहादुर तामाङ, २४ वर्षीय लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङका साथी तथा धनकुटा पाख्रीवासका २६ वर्षीय रिजन दाहाल र धनकुटा देब्रेबासका २२ वर्षीय कलम थापाबीचको विवादले झडपको रुप लिएको प्रहरीले जनाएको छ ।

दाहाललाई जन्मदिन मनाइएको घरबाट केहीपर लगेर खुकुरीले आक्रमण भएको प्रहरीको भनाई छ। मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार टाउकोमा खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । उनको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ। दाहाल पछिल्लो समय सुनसरीको इटहरी उपमहानगरपालिका १३ स्थित खनारमा बस्दै आएका थिए।

मदिराले मातेका युवाबीचको विवाद साम्य गर्न पुगेका थापा र नानु लिम्बूमाथि पनि खुकुरी प्रहार भएको छ । प्रहरीका अनुसार दुवैजनाको हातमा चोट लागेको छ। मृतक दाहाल र घाइते थापा खनारकै एक धागो उद्योगमा कार्यरत रहेको खुलेको छ।

अनुसन्धानमा जारी रहेको भन्दै प्रहरीले के विषयमा विवाद भएको भन्ने खुल्न नसकेको जनाएको छ। तर घटनामा संलग्नहरु लागुऔषध दुर्व्यसनी भएको खुलेको प्रवक्ता श्रेष्ठको भनाई छ।

घटनमा संलग्न दुईजना प्रहरीको नियन्त्रणमा छन् । अरु युवा फरार छन्। नियन्त्रणमा आएका दुई युवकको पहिचान प्रहरीले खुलाएको छैन।

कात्तिक २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्