वीरगञ्ज महानगरको स्वास्थ्य क्षेत्रमा बेथिति

एकमहिने काज सरुवा गएकी अनमी एक वर्षसम्म फर्किनन्

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका – ३० लालपर्सा स्वास्थ्य चौकीकी अनमी मनिला साह काज सरुवा गएको एक वर्षमा पनि फिर्ता नभएको पाइएको छ। उनी एकमहिने काज सरुवा लिएर महानगरकै १८ वडास्थित भवानीपुर स्वास्थ्य चौकीमा गएकी थिइन्।

अनमी साह महानगरबाट २०७७ साल मंसिर २१ गते एकमहिनाको लागि काज सरुवा स्वीकृत गराई भवानीपुर स्वास्थ्य चौकीमा गएकी हुन्। स्वीकृत काजसरुवाअनुसार उनी २०७७ सालकै पुस २० गते लालपर्सा स्वास्थ्य चौकीमा अनिवार्य हाजिर हुनुपर्ने थियो तर उनी अहिलेसम्म लालपर्सा हाजिर नभएको लालपर्सा स्वास्थ्य चौकीका इञ्चार्ज मेवालाल ठाकुरले जानकारी दिए।

उनले अनमी साहले लालपर्सा आउन अटेर गरेर बसेको बताए। उनको अटेरीका कारण उक्त वडाका गर्भवती महिला स्वास्थ्य जाँचबाट बञ्चित भएका छन्। अनमी साहले अटेरी गरी लालपर्सा स्वास्थ्य चौकीमा नफर्कंदा वडा नम्बर ३० का गर्भवती महिला स्वास्थ्य जाँच गराउनबाट वञ्चित हुँदै आएको इन्जार्च ठाकुरले बताए।

‘गत वर्षको मंसिर महिनाको २१ गते अनमी मनिला साह लालपर्सा स्वास्थ्य चौकीबाट एक महिनाको काज सरुवा गराएर गएकी थिइन्’, उनले भने, ‘एक महिनापछि फेरि उनलाई फर्केर आउनुपर्ने थियो तर उनी एक वर्षदेखि स्वास्थ्य चौकीमा फर्केर आएकी छैनन्।’

स्वास्थ्य चौकीमा नियमित अनमी नहुँदा गर्भवती महिलाको स्वास्थ्य जाँचका साथै परिवार नियोजन र सुरक्षित मातृत्वको सेवासमेत प्रभावित भएको ठाकुरको भनाइ छ।

दरबन्दीको अनमी नहुँदा स्वास्थ्य जाँचविनै फर्कनु परेपछि गर्भवती महिलाहरुले आफूलाई नै गाली दिएर जाने गरेको उनले गुनासो गरे। लालपर्सा स्वास्थ्य चौकीमा दैनिक आधा दर्जनभन्दा बढी गर्भवती महिलाहरु स्वास्थ्य जाँच गराउन आउने गरेका छन्।

स्वास्थ्य चौकीमा पटकपटक आउँदा पनि आफ्नी गर्भवती बुहारीको स्वास्थ्य जाँच गराउन नपाएकोे वडा नम्बर ३० प्रसोतीपुर टोल निवासी तयरा खातुनले बताइन्। उनले पूर्वसूचना नहुँदा धेरै गर्भवती महिलाहरु स्वास्थ्य चौकीबाट स्वास्थ्य जाँच नै नगराई फर्कन बाध्य हुँदै आएको गुनासो गरिन्।

महानगरपालिका र स्वास्थ्यका हाकिमहरुको लापरबाहीका कारणले वडामा भएका गर्भवती महिलाहरु स्वास्थ्य जाँच गराउनबाट बञ्चित हुनु परेको उनको आरोप छ।

‘मेरो गर्भवती बुहारीलाई जाँच गराउन आउँदा दुईदुई पटक फर्केर जानु प¥यो’, खातुनले आक्रोश पोखिन्, ‘स्वास्थ्य चौकीका इञ्चार्जले अनमी नै नभएपछि कसले जाँच गर्ने भनेर फर्काइदिने गरेका छन्। गाडी भाडा खर्चेर स्वास्थ्य चौकी पुग्छौं। पैसामात्रै खेर गयो।’

लालपर्सा स्वास्थ्य चौकीमा दुईजना अनमीको दरबन्दी रहेको छ। जसमध्ये अनमी मनिला साह एक वर्षदेखि स्वास्थ्य चौकी पाइला टेकेकी छैनन्। अर्की अनमी करण सिंह तालिममा अथवा बिदामा जाँदा स्वास्थ्य चौकी खाली हुने गरेको छ।

जनशक्ति अभावले लालपर्साले बर्थिङ सेन्टर सञ्चालनमा ल्याउन सकेको छैन। महानगरका स्वास्थ्य शाखा प्रमुख अरुण महतोले लालपर्सामा एकजनामात्रै अनमी रहेको जानकारी ढिलोमात्रै आएको बताए। उनले अबको ५-१० दिनभित्रै अर्को अनमीको व्यवस्था गरिने आश्वासन दिए।

कात्तिक २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्