कांग्रेस संसदीय दलका नेता कोइरालाको नेतृत्वमा प्रदेश १ मा बन्यो राजनीतिक संयन्त्र

राजीव कोइराला।

मोरङ – प्रदेश १ को सत्ता सम्हाल्न पुगेका पाँच दलीय गठबन्धनको बैठकले राजनीतिक संयन्त्र निर्माण गरेको छ।

सोमबार बिराटनगरको एक होटलमा बसेको बैठकले नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा राजनीति संयन्त्र निर्माण गरेको हो।

बैठकमा कांग्रेसका अर्का प्रदेशसभा सदस्य शेखरचन्द्र थापालाई सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न गठित समितिको संयोजकत्वको जिम्मेवारी दिइएको छ।

गठबन्धनको बैठकले सो समितिमा एकीकृत समाजवादीका राजन राई, जनता समाजवादीबाट रामचन्द्र लिम्बू र माओवादीबाट धीरेन शर्मा छन्।

समितिले सरकारको न्यूनतम साझा कार्यक्रम लेखन कार्य गर्ने सामाजिक विकासमन्त्री जयराम यादवले जानकारी दिए।

बैठकमा सबै प्रदेश सभासदस्यलाई विश्वासको पक्षमा मतदान गर्न मुख्यमन्त्री राजेन्द्र राईले आह्वान गरेका थिए।

मुख्यमन्त्री राईको नेतृत्वमा कात्तिक १६ गते प्रदेश सरकार गठन भएको हो। यससँगै मुख्यमन्त्री राईको नेतृत्वमा सरकारलाई स्थापित गराउन मंगलबार पाँच दलका ५० सांसदले विश्वासको मत दिनेछन्। जसमा कांग्रेसको २१, माओवादी १५, एकीकृत समाजवादी १०, जसपा ३ र संघीय लोकतान्त्रिक मञ्चका १ सांसद छन्।

 

कात्तिक २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्