सुनसरीमा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा विवाद, निर्वाचन शुक्रबारसम्म सर्‍यो

मोरङ – एमालेको १० औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा सुनसरीमा संस्थापन र असन्तुष्ट पक्षबीच महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद बढ्दै गएको छ।

सुनसरीमा देखिएको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच विवाद बढ्दै गर्दा मंगलबार हुने निर्वाचन तालिकासमेत मंसिर ३ गते शुक्रबारसम्मका लागि सरेको जिल्ला निर्वाचन सहयोग समितिले जनाएको छ।

जिल्ला निर्वाचन सहयोग समिति शिवराज चौहानले मंगलबार हुने निर्वाचन प्रक्रिया मंसिर ३ गते शुक्रबार बिहान ८ बजेदेखि बेलुका ४ बजेभित्र हुनेगरी तालिका सरेको जानकारी दिए।

प्रतिनीधि छनोटका लागि पार्टीले कात्तिक २७ गते निर्वाचन प्रक्रिया सुरु गरी ३० गतेका लागि निर्वाचनको तालिका तय गरेको थियो। अर्कोतर्फ, जिल्लाको प्रचारप्रसार विभाग प्रमुख रवि खनाल सुनसरीको ४ निर्वाचन क्षेत्रमा देखिएको समस्या समाधानका लागि प्रयास जारी रहेको र सबै क्षेत्रमा सर्वसम्मत गराउन निर्वाचन मिति पछाडि सारिएको बताउँछन्। क्षेत्र नम्बर २ र ४ मा सहमतिका लागि अन्तिम चरणमा छलफल भइरहेको जानकारी दिँदै खनालले क्षेत्र नम्बर १ र ३ मा भने स्थानीय नेता आपसी वार्तामा व्यस्त रहेको बताए।

संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच विवाद बढ्दै गर्दा सुनसरीको ४ वटै क्षेत्रमा भागवण्डाको प्रयास पनि जारी छ। क्षेत्र नम्बर १ मा संस्थापन पक्षधरले असन्तुष्ट पक्षलाई ३ जना प्रतिनिधिका लागि प्रस्ताव अघि सारेको छ। क्षेत्र नम्बर १ मा खुलातर्फ ६ र महिला ३ गरी कुल ९ जना प्रतिनिधि छनोट हुनेछन्।

जसमा संस्थापन पक्षको बाहुल्यता रहेको जनाउँदै आफ्नो पक्षमा ६ र अर्को पक्षलाई ३ जना प्रतिनिधि चयन गराउनका लागि सहमति प्रयास भइरहेको जनाएको छ। क्षेत्र नम्बर १ मा भरौल, बराह क्षेत्र, कालाबन्जार र धरान पर्छ। संस्थापन पक्षका एक नेताले गत दुई दिनबाट सहमतिका लागि प्रयास भइरहेको जनाएका छन्।

उनले दुवै पक्षबीच भइरहेको वार्ता सकारात्मक हँुदै गएको र सर्वसम्मत प्रतिनिधि चयन हुनेमा विश्वस्त भएको बताए।

सुनसरीको ४ वटा निर्वाचन क्षेत्रमा ३८ जना खुला र ४ जना दलिततर्फ गरी कुल ४२ जना प्रतिनिधि चयन हुनेछन्। हाल क्षेत्र नम्बर १ मा ९ जनासँगै क्षेत्र नम्बर २ मा ८ खुला र ३ महिला, क्षेत्र नम्बर ३ मा ६ खुला र ३ महिला, क्षेत्र नम्बर ४ मा ६ खुला र ३ महिला प्रतिनिधि चयन हुनेछन्। त्यसैगरी, चारवटै क्षेत्रमा दलिततर्फ ३ खुला र १ महिला प्रतिनिधिसमेत चयन हुनेछन्।

कात्तिक २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्