चाडबाड मानेर कामका लागि भारत फर्किँदै नेपालीहरु

भारत जाँदै गरेका नेपाली ।

नेपालगञ्ज – कामका लागि भारत फर्किने नेपालीको चाप बढेको छ । दसैँ, तिहार मान्न घर आएका नेपाली फेरि कामका लागि भारत फर्किएका हुन् ।

नेपालगञ्ज नाकाबाट कामका लागि पुनः भारत फर्किने नेपालीको लर्को देखिन थालेको छ । लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका बासिन्दा मौसमी कामका लागि भारतको विभिन्न शहरमा जाने गर्दछन् । दैलेख, जाजरकोट, रोल्पा, रुकुम, सल्यान, प्यूठानका मानिस मौसमी कामका लागि भारतको कालापहाड, सिमला, प्रयागलगायतका ठाउँमा जाने गर्दछन् ।

दसैँ र तिहार मनाउन आएका नेपाली चाडबाड सकिएपछि फेरि परिवारसहित भारततिर गइरहेका छन् ।

अहिले नेपालगञ्ज नाकाबाट दैनिक सात सय बढी मानिस भारततिर गइरहेका छन् । इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज मिनबहादुर विष्टले हजार आसपासमा नेपाली भारततिर गइरहेको जानकारी दिए । ‘अहिले भारततिर गइरहेकाहरु चाडबाड मान्न आएका नेपाली हुन् ।

दसैँ, तिहारजस्ता चाडबाड मानेपछि उनीहरु पुनः काममा फर्किरहेका छन््’, इन्चार्ज विष्टले भने, ‘दुई÷तीन दिनदेखि भारत जानेको चाप बढिरहेको छ ।’

नेपालगञ्ज नाकाबाट भारत जानेमा सबैभन्दा दैलेख र जाजरकोटका छन् । रुकुम, रोल्पा, सल्यान, प्यूठान जिल्लाका पनि छन् । आफ्नो उत्पादनले वर्षभरि खाना नपुग्ने मानिस मौसमी कामका लागि भारतको कालापहाड, सिमला, प्रयाग जाने गर्दछन् । मौसमी कामका लागि जाने नेपाली चाडबाड र खेती लगाउने बेलामा घर फर्किन्छन् । बाँकी समय उतै काममा हुन्छन् ।

भारतका विभिन्न शहरमा मजदुरी गरेर फर्किने नेपालीलाई फेरि जानका लागि यतिबेला नेपालगञ्ज नाकाबाट भारतका विभिन्न शहरमा सिधै गाडीको सुविधा छ । हरिद्वार, चण्डीगढलगायतका शहरमा नेपालगञ्जबाटै गाडी जाने गर्दछन् । उताबाट सिधै नेपाली आउने र यहाँबाट पनि सिधै ती शहरहरुमा नेपाली जाने भएकाले पछिल्लो समयमा बीच बाटोमा हुने लुटपाटका घटना रोकिएको छ ।

खोप, कोरोना जाँचलगायतका कारणले नेपालगञ्ज नाकामा यसपाली दसैँमा नेपालीहरुसँग पैसा असुल्ने काम भएको थियो । त्यसको व्यापक विरोध भएपछि बाँके प्रहरीले इलाका प्रहरी कार्यालय, जमुनाहाको पुरै टीम नै परिवर्तन गरेको थियो । प्रहरीको सेट नै परिवर्तन गरेर बाँके प्रहरीले झोला जाँच नगर्न निर्देशन दिएको थियो ।

भारतका विभिन्न शहरमा मजदुरी गरेर कमाएको पैसालाई घरसम्म पु¥याउन नेपाली कामदारलाई सधैँ गाह्रो हुने गरेको छ । विशेष गरेर नाका क्षेत्र र नेपालगञ्जमा लुटिने, ठगिने समस्या हुँदै आएको छ । नेपालीहरु निरन्तर जाने आउने गरेपनि ठगिन छोडेका छैनन् । नेपालगञ्जसम्म आउँदा रिक्साले कति रुपैयाँ लिन्छ, होटलमा बस्दा कति खर्च लाग्छ भन्ने थाहा पाएर पनि उनीहरु ठगिरहेको पाइन्छ ।

साना बालबालिका काखमा च्यापेर अर्काको देशमा मजदुरी गर्न जाने नेपालीको नाकामा लर्को देखिन्छ । यतिबेला नाकामा दैनिक यस्तो दृश्य देखिन्छ । यो नाकाबाट हजारौँ मानिस भारतमा काम गर्न जाने गर्दछन् । वर्षमा कुन जिल्लाबाट कति मानिस भारतमा काम गर्न जान्छन् त्यसको यकिन तथ्यांक कसैसँग छैन ।

कात्तिक ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्