मुख्यमन्त्री राईले विश्वासको मत लिने कार्यसूची भोलिका लागि सर्‍यो

मोरङ– प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने समय पुनः एक दिन पछाडि सरेको छ।

प्रदेश सभामा मंगलबार विश्वासको मत लिने कार्यसूची तय भए पनि प्रमुख प्रतिपक्षी दलका प्रदेश सभा सदस्य सदनमा उपस्थित नहुँदा विश्वासको मत लिने कार्यसूची बुधबारसम्मका लागि सरेको हो।

प्रदेश सभा सचिवालयका प्रवक्ता चमिला भट्टराईका अनुसार मंगलबार सदनमा सभामुख प्रदीपकुमार भण्डारीले भोलि विहान ११ः३० बजेसम्मका लागि सदन स्थगित भएको जानकारी दिएका थिए। भट्टराईले प्रतिपक्षी दलका सबै प्रदेश सभा सदस्य बन्दको कारण देखाउँदै सदनमा उपस्थित नभएको जानकारी दिइन्।

यस्तै एमाले प्रदेश सभा सदस्य एवं पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले आकस्मिक रुपमा भएको बन्दले सदनमा उपस्थित हुन नसकेको दावी गरे।

यद्यपी महाधिवेशनका क्रममा पहाडी जिल्ला पुगेका प्रदेश सभासदस्यहरु आइनपुग्दा सदनको कारबाही रोकिएको उनको भनाइ छ। बुधबार हुने सदनको कारबाहीमा प्रतिपक्षी दलको उपस्थित हुने पूर्वमन्त्री घिमिरेले जानकारी दिए।

मुख्यमन्त्री मन्त्री राजेन्द्र राईले मंगलबार विश्वासको मत लिने गरी केही दिनअघि प्रस्ताव दर्ता गराएका थिए। प्रदेश सरकारमा बहुमतका लागि ४७ प्रदेश सभा सदस्य संख्या आवश्यक रहेको छ।

पाँच दलीय गठबन्धनमा कांग्रेसका २१, माओवादीका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका १ प्रदेशसभा सदस्य गरी कुल ५० रहेका छन्।

सभामुखसहित प्रतिपक्षी दल एमालेका प्रदेशसभामा ४१ सदस्य रहेका छन्।

प्रदेश सभामा प्रत्यक्ष निर्वाचनबाट ५६ र समानुपातिकबाट ३७ गरी ९३ जना प्रदेश सभा सदस्य रहेका छन्। हाल माओवादी केन्द्रबाट निर्वाचित एक सदस्य पदमुक्त भएपछि प्रदेशसभामा ९२ जना रहेका छन्।

कात्तिक ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्