हेल्पलाइन नम्बर १७०००

त्यो मुक्तिको बाटो एकैदिन रोल्पा, रुकुम, गोर्खा अनि सिन्धुलीबाट सुरु भयो। २०५२ साल फागुन १ गते मंगलबारको दिन सबै सर्वहारालाई त्यो सुरुवात ‘मंगलमय’ लागेको थियो होला। वसन्त ऋतुमा सारा जगत आफ्नो जिर्ण स्वरुप फाल्दै नयाँ पालुवा लगाउँदै थियो। ती तमाम सहभागी- हतभागीलाई पनि प्रकृतिको सिको गर्दै नव-समाज बनाउँछौँ भन्ने उत्कट आकांक्षा थियो होला। किनकि उनीहरुको विश्वास प्रचण्ड नेतृत्वमा थियो, त्यसैले त उनीहरु जीवन उत्सर्ग गर्न पनि राजी भएर प्रचण्डपथमा अगाडि बढ्दै थिए। आँखामा सपना अनि हातमा वास्तविकता बोकेर। खुट्टाले माटो टेक्दै अनि दिमागमा फाटो लिपेर।

यस धरतीमा मेरो त्यो दोस्रो वसन्त खासै उल्लासपूर्ण नभएको आज पत्तो पाए जब “निरन्तरतामा क्रमभंगता” को प्रचण्ड परिभाषा अवसरवाद रहेछ भन्ने ज्ञान भयो। त्यस ग्रामीण क्षेत्रलाई नियन्त्रण गर्ने र त्यसपछि शहरी बस्तीहरूलाई घेर्ने क्रान्तिकारी रणनीतिको सामान्य ज्ञान थाहा पाउँदा धन्न प्राथमिक शिक्षा सक्किएको थियो किनकि मैले त्यसपश्चात मात्र थाहा पाए कि तथाकथित बुर्जुवा शिक्षा क्रान्तिकारी नीतिमा बन्देज रहेको। तर पनि मनमा केही परिवर्तन आएन किनकि यो रणनीति त देशमा परिवर्तन ल्याउने थियो नि हैन?

मेरो घरको आँगनमा रुख झाँगिदै गर्दा, मेरो कोठामा भने हँसिया-हतौडाको ढोका लगाएको थिएँ, धोका नहुन्जेलसम्म। घर गाउँमा वरपर कसैले “जय नेपाल” भनेको सुन्दा, मलाई “लालसलाम”को गीत गाउन मन लाग्थ्यो। यो मेरो क्रान्तिकै एउटा स्वरुप हो भन्न मिल्दैन र? अरु जंगलमा युद्ध गरिरहँदा, म घरमा “बन्दुकबिना” युद्ध गरिरहेको रहेछु, त्यस प्रचण्ड अस्थीरतालाई “गतिशीलता” मानेर। बैंक लुटियो, प्रहरी चौकी जले, सरकारी भवन लडे, मान्छे मरे, घाइते भए, बिधवा भए, टुहुरा भए, झन् झन् गरिब भए। यी सबै कर्तुत नवनिर्माणका लागि होला भन्ने ठानेर निदाएको व्युहनिर्माणलाई रहेछ भन्ने थाहा पाउँदा आँखा खुल्यो।

रुखको छहारीमा बसेर देशको हालत बुझ्दा यता खलखली पसिना बग्थ्यो, उता रगत । युद्ध हुन्थ्यो, सहिदहरुले वीरगति पाउँथे, देश तहसनहस- अस्तव्यस्त हुन्थ्यो। र, पनि कानले “अरुण तरेर नाना तमोर तरेर, आयौं हामी वीरताको गाथा कोरेर” सुन्दा मुट्ठी कस्न मन लाग्थ्यो। किनभने मलाई लाग्थ्यो,”युद्ध नै विकासको द्योतक हो।” दश वर्षमा देशलाई स्विज़रल्याण्ड वा सिंगापुर बनाउँछौँ भनेको सुन्दा हर्ष अद्भुत हुन्थ्यो। अरुले त्यो कुरा सुने कि सुनेनन् भनेर मनमा प्रश्न खडा हुन्थ्यो। घरभरि सबैलाई बारबार त्यही कुरा दोहोर्‍याउन मन लाग्थ्यो। बाटोमा हिँडेका प्रत्येक बटुवालाई रोकेर सुनाउन मन लाग्थ्यो । दिनहरु गन्न मन लाग्थ्यो, जबसम्म “१२ बुँदा” पढ्न सकिएको थिएन।

सबै जन-जनको मनमा एउटा “जन”को मोह थियो, त्यो हो जनसरकार। भाइभारदारको शासनले शोषित जनता शाही सरकारबाट आजित हुनु स्वभाविक थियो। त्यसैले समानुपातिक समाबेशिताको अपरिहार्यता स्पष्ट थियो। यो लक्ष्य प्राप्ति गर्न जनसहभागिता, जनपरिचालन, जनक्रान्ति, जनयुद्ध, जनसेना, जनअदालत, जनसत्ता, जनसरकार अनिवार्य छ भन्ने म जस्ता धेरै फुटकर जनको बुझाइ ठिकै थियो जतिबेलासम्म जनताको मत च्यातिएन। जनताको टाउकोमा टेकेर पेटमा लात हान्ने यस प्रचण्ड प्रवृति अस्थिर राजनीतिक मानसिकताको उपज हैन भन्ने ठाउँ बाँकी छ र? प्रचण्ड पथको आत्मरति तिनै नाइके बाहेक अरुलाई छ र?

यस चरम निराशाबाट पैदा भएको राष्ट्रिय अवसाद (डिप्रेसन) बाट उत्पन्न हुने आत्महत्याको सोच त्याग्न अनि संकटको सामना गर्न सारा देश मनोचिकित्सकको नियमित परामर्शमा छ। तपाईँलाई अझै पनि आत्महत्याको सोच आए कृपया हेल्पलाइन नम्बर १७००० मा मनोपरामर्श लिनु निश्चित रुपमा हितकारी होला।

चारुमा सुरु गरेर भारुमा सकेको क्रान्तिले नेताको मात्र हैन, लोकको पनि बिजोक पार्छ। त्यस प्रचण्ड क्रान्तिको धरातल थाहा पाउँदा मलाई प्रचण्ड पथमा छोडिएको आफ्नो पाइला मेटाउने र आत्मग्लानि गर्ने बाहेक अरु केही विकल्प रहेन। यस्तै विकल्पहीन तमाम स्वप्नद्रष्टाले शनै: शनै पाइला मेटाउँदै गएको चाल पाएपछि दच्कनु प्राकृतिक हो। पछिल्ला दिनहरुका प्रचण्ड अभिव्यक्ति यसैका प्रमाण हुन्।

उच्च क्रान्तिकारी सोच जब छलको जगमा निर्माण हुन्छ, त्यसको उपज, निश्चित व्यक्तिमा व्यक्तित्व विकार पैदा हुन्छ। नाटकीय व्यक्तित्व विकार, यिनै छलछामबाट सृजित परिणाम हो। फलस्वरूप व्यक्तिमा तीव्र अस्थिर भावना पैदा हुदा स्व- छवि विकृत हुन पुग्दछ। आवेगपूर्ण व्यवहार, सोच वा कथन स्वयम्‌लाई मात्र हैन, यो सारा समाजका लागि घातक छ। किनकि यस प्रकारको विकारले राजनीतिक वा अराजनीतिक अपराध गर्न बाधा गर्दैन साथै त्यस कार्य प्रति कुनै प्रकारको पश्चाताप हुँदैन। कहिले श्रेष्ठताको अतिरञ्जित भाव उत्पन्न हुन्छ त, कहिले असहायताको अनुभूति हुने गर्छ।

उदाहरणका लागि तिनै प्रचण्ड भाषणमा तालमेल नहुनुले प्रष्ट पारेको छ। कुनै दिन माउ पार्टी निर्वाचनपछि पहिलो पार्टी बन्ने उद्घोष हुन्छ त अर्को दिन ५ दलीय “ठगबन्धन” ले मिलेर उम्मेद्वारी दिने कुरा सुनिन्छ। एकदिन पार्टीले देशैभरि उभार ल्याउनु पर्छ, ल्याएको छ भनिन्छ, अर्को दिन माटो मुठी कसेर आत्महत्या गर्न मन लाग्यो भनेको समाचार बन्छ। आज आफ्नो पार्टी भ्रष्ट नभएर अरु पार्टी हुन् भन्यो भोलि फेरि भाषण गर्दा पार्टीमा चरम भ्रष्टाचार, नातावाद, दलाली हावी भएर जनताको काम भएन, यस्तो गर्नेलाई तुरुन्त कारवाही गर्ने घोषणा हुन्छ। आफ्नै भाइभारदारलाई होला त साँच्चिकै कारवाही? ढिलो उदाए सूर्यलाई त नमस्कार गर्दैनन्, यो कुबेलाको भावनात्मक भयादोहनले जनताको मानसिकतामा परिवर्तन ल्याउन निकै अबेर भइसक्यो।

जनताका आशा र भरोसा बचेका भए यी सबै प्रभावकारी हुन्थे होलान्, अब मरेको आत्मामा पानी हाल्नुको अर्थ छैन। यी सबै प्रयास निष्प्रभावी सावित हुनेछन्। किनकि मुट्ठी कसेर देखेका सपनाहरुलाई, “सेटिङ” को ओछ्यानमा ब्युँझ्याउने कर्तुतको अवसान अवश्यम्भावी छ। पार्टीको भयालो (दाजुभाइ, कुटुम्ब आदिको समूह) हैनन् जनता। डमरु बजेको सुनेर, हँसिया-हतौडाको ढोका खोलेर बाहिर निस्किदा, कमरेड आँगनमा छमछमी नाचेको दृश्य जनताले देखिसके। अब गोलाकारभित्र हँसिया-हतौडाको धुनमा नाचेर जनताले साथ नदिने पक्का छ।

यी सबै घटना र अवस्थाको ठोस विश्लेषण गर्दा देखिएको कहालीलाग्दो भविष्य यस चिन्ताको मुख्य कारण हो। तसर्थ आत्महत्याको सोच आउनु मुनासिब छ। परन्तु, आत्मको हत्या गरेर हैन बरु आफ्ना स्वार्थ र चरम महत्वाकांक्षातिर नलागी, अत्मत्यागी हुँदा उचित होला।

यस चरम निराशाबाट पैदा भएको राष्ट्रिय अवसाद (डिप्रेसन) बाट उत्पन्न हुने आत्महत्याको सोच त्याग्न अनि संकटको सामना गर्न सारा देश मनोचिकित्सकको नियमित परामर्शमा छ। तपाईँलाई अझै पनि आत्महत्याको सोच आए कृपया हेल्पलाइन नम्बर १७००० मा मनोपरामर्श लिनु निश्चित रुपमा हितकारी होला।

कात्तिक ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्