अरु दलप्रति एमालेको चिन्ता हास्यास्पद : मुख्यमन्त्री राई

मोरङ – प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रतिपक्षी दल एमालेले अन्य पार्टीप्रति गरेको चिन्ता हास्यास्पद भएको बताएका छन्।

सरकारको पक्षमा विश्वासको मत लिने क्रममा बुधबार उनले एमालेलाई अन्य दलको चिन्ता नलिन आग्रहसमेत गरेका हुन्।

सदनमा एमालेका प्रदेशसभा सदस्य हिक्मत कार्कीले उठाएका कुराको जवाफ दिँदै मुख्यमन्त्री राईले भने, ‘एमालेको भाषाशैली, व्यवहार हेर्दै गर्दा प्रतिपक्षी स्थान नै बस्न सुहाउनेछ। मुलुकका अधिकांश सरकारको नेतृत्व गर्दै आएको एमालेले कांग्रेस र अन्य दलको चिन्ता गर्नुभन्दा आफ्नो पार्टी जोगाउन सजग बन्नुपर्ने अवस्था छ। उहाँहरुको अर्ति उपदेश कतिको व्यहवहारिक होला र? एमालेले अरुको भन्दा पनि आफ्नो चिन्ता गर्नु भए बेस हुनेछ।’

एमाले सांसद कार्कीले एमाले निर्वाचनमा गठबन्धन दलसँग प्रतिस्पर्धा गर्न तयार रहेको भनाइ राखेका थिए। कार्कीको भनाइको जवाफमा उनले भने, ‘एमालेको चुनावमा जाने रहर चाँडै पूरा हुनेछ।’

मुख्यमन्त्री राईले आफूहरुलाई विश्वासको मत लिन कुनै हतार नभएको बताए। तर आफूहरुले संवैधानिक प्रक्रिया पूरा गरेको उनको भनाइ छ।
कार्तिक ३० गते विश्वासको मत लिने जानकारी हुँदाहुँदै उहाँहरु (एमाले प्रदेशसभा सदस्यहरु) सदनमा अनुपस्थित हुनु, बन्दले आउन सकिनँ भन्नुको कुनै अर्थ नरहेको उनको भनाइ छ।

होटल खर्च धान्न नसक्दा विश्वासको मत लिन हतारो भएको भन्ने आरोपको खण्डन गर्दै मुख्यमन्त्री राईले भने, ‘यहाँ अनुभवीलाई थाहा हुन्छ। सत्ता पक्षमा रहेका सांसद एमालेको फोन उठाउन, छड्केर हिँड्नुपर्ने अवस्था आएको छ। यसबीच प्रतिपक्षीबाट हाम्रा सांसदलाई मन्त्री पददेखि विभिन्न प्रकारका अफर आयो। उहाँहरुबाट भागेर हिँड्नुपर्ने अवस्था आयो।’

बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतका लागि सबै प्रदेशसभा सदस्यलाई तयार रहन आग्रह गरेका छन्।

मंसिर १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्