एमालेको भाषाशैली र व्यवहार हेर्दा प्रतिपक्षीको स्थान नै सुहाउँछः मुख्यमन्त्री राई

मोरङ– प्रदेश १ का मुख्यमन्त्री  राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन्। बुधबार प्रदेशसभामा भएको मत विभाजनमा विश्वासको मतको पक्षमा ५० र विपक्षमा २९ मत खस्यो।

सभामुख प्रदीप कुमार भण्डारीका अनुसार कुल ७९ जना प्रदेशसभा सदस्य मतदानमा सहभागी भएका थिए।

यसअघि मुख्यमन्त्री राईले वर्तमान सरकार निर्वाचनपछि वा सत्ता हानाथापको अवस्थाबाट निर्माण नभएको बताएका थिए। यो सरकार समय परिस्थितिले गठन भएको र यसले जनताको अपेक्षाअनुरुप काम गर्ने बताउँदै मुख्यमन्त्री राईले सरकार संविधानको रक्षा तथा परिवर्तनको बहाक बनेर जनताको अपेक्षा पूरा गर्नेतर्फ केन्द्रित हुने बताएका थिए।

पूर्ववर्ती सरकारले संविधानको मर्म अनुरुप कार्य नगरेको र संविधान विपरित अघि बढेको हुँदा गठबन्धनले नेतृत्व लिनुपरेको उनको भनाइ थियो।

सरकारको नेतृत्व गरिरहँदा प्रतिपक्षी दल एमालेबाट समेत सहयोगको अपेक्षा राखेको बताउँदै उनले भने, ‘जनताको अपेक्षा पूरा गर्नका लागि प्रतिपक्षीको समेत सहयोगको अपेक्षा गरेका छौँ। सबै दल मिलेर जनताको काम गर्नुको विकल्प छैन। जनतालाई निरास हुन नदिनका लागि समेत मिलेर काम गर्नु पर्नेछ। विगतका तितामिठा कुरालाई भुलेर जनताको काममा एक हुनेमा विश्वास्त छौँ।’

त्यसैगरि २१ प्रदेशसभा सदस्यसहित सत्तामा रहेको ठूलो दल नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले अहिलेको अवस्था सिर्जना हुनुमा पूर्व सरकार र एमाले अध्यक्ष केपी शर्मा ओली नै जिम्मेवार भएको बताएका थिए।

नेता कोइरालाले अहिलेको गठबन्धन संविधान रक्षाका लागि बनेको बताए। कोरोना महामारीमा समेत ओली सरकारले भ्रष्टाचार र बेतिथी गरेको बताउँदै नेता कोइरालाले गठबन्धनले जनताको अभिलाषा पूरा गर्नेमा विश्वस्त रहेको बताएका थिए।

यस्तै प्रतिपक्षी दलका तर्फबाट प्रदेशसभा सदस्य हिक्मत कार्कीले कांग्रेसको कडा आलोचना गरेका थिए। २०७४ सालको निर्वाचनपछि कांग्रेसको सातो गएको बताएका कार्कीले भने, ‘कांग्रेसको सातो गयो कि? अब धामीझाँक्री लगाउनुपर्ने हो कि? लोकतन्त्र सुदृढ गराउन कांग्रेस एमालेको आवश्यकता भएपनि कांग्रेसको अवस्था कमजोर छ। कांग्रेसलाई उपचार गराउनुपर्ने देखिएको छ।’

सरकारलाई विश्वासको मत नदिने बताउँदै पूर्वमन्त्री समेत रहेका कार्कीले सरकार बन्ने प्रक्रिया नै गलत भएको आरोप लगाएका थिए। ‘सरकार बन्ने प्रक्रियाप्रति आपत्ति छ’, उनले भने, ‘अहिले सरकार बलजफ्ती बनेको छ। यसको विपक्षमा हामी उभिएका छौँ।’

कार्कीले गठबन्धनसँग राजनीतिक प्रतिस्पर्धा गर्न आउँदो निर्वाचनसम्म तयार रहेको बताएका थिए। उनले भने, ‘पार्टी फुटाएर सत्तामा जोडिने घृणित कार्य भएको छ। यो गठबन्धनसँग बाह्रै महिना, निर्वाचनसम्म तयार छौँ। हामीलाई हिनताबोध छैन। हामी प्रतिस्पर्धा गर्न तयार छौँ।’

अघिल्लो सरकारले गरेका निर्णय खारेज गरेकोप्रति आक्रोशित भएका कार्कीले भने, ‘नयाँ सरकारले केही गर्न नसक्ने अनि पूर्व सरकारले गरेका काम, निणर्य समेत खारजी गर्ने सरकारलाई मत दिन सक्दैनौँ। सरकारले विगतमा गरिएका ती निर्णय खारेजी गर्नु बेठिक छ।’

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले एमालेलाई अन्य दलको चिन्ता नलिन आग्रह गरेका थिए। मुख्यमन्त्री राईले भने, ‘एमालेको भाषाशैली, व्यवहार हेर्दैगर्दा प्रतिपक्षीको स्थानमा नै बस्न सुहाउने छ। मुलुकका अधिकांश सरकारको नेतृत्व गर्दै आएको एमालेले कांग्रेस र अन्य दलको चिन्ता गर्नुभन्दा आफ्नो पार्टी जोगाउन पर्ने अवस्था छ। उहाँहरुको अर्ति उपदेश कत्तिको व्यवहारिक होला र? एमालेले अरुको भन्दा पनि आफ्नो चिन्ता गर्नु भए बेस हुनेछ।’

प्रदेशसभामा एमालेका ४१, कांग्रेसका २१, माओवादीका १५, एकीकृत समाजवादीका १०, जसपाका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका समान १ प्रदेशसभा सदस्य गरी कुल ९३ जना रहेका छन्। यसअघि माओवादीबाट निर्वाचित एक सदस्य पदमुक्त भएका छन्।

मंसिर १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्