जलवायु परिवर्तनका पीडित पक्षलाई कोप-२६ सम्मेलनले दिएको सन्देश

पृथ्वीको बढ्दो तापक्रमलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्ने भनेर हात्तीझैँ आएको कोप-सम्मेलन फुस्सा भएर सकिएको छ। सम्मेलनले सम्भावित संकट टार्न लिनु पर्ने अपेक्षित निर्णय गर्न नसकेको मनोविज्ञानलाई अध्यक्षता गरेका बेलायती मन्त्री आलोक शर्माले निर्णय सुनाउँदा उनको चेहेरामा देखिएको भावुकता (आँसु थामेको) र माफीको शब्दले प्रष्ट पारेको थियो।

त्यतिमात्र होइन, एक सय उनन्तीस राष्ट्र सहभागी रहेको महत्वपूर्ण उक्त सम्मेलनले जल्दाबल्दा कुनै पनि ‘इस्यु’ मा गम्भीरता देखाएको सन्देश जान सकेन। दुई हप्ताको मेहमान, चमकझमकपछि प्रतिनिधिहरू आ-आफ्नै परिवेशमा फर्के! आफ्ना बा, हजुरबा समान नेतृत्वसँग सुरक्षित भविष्यको भिख माग्न विश्वभरबाट स्कटल्याण्ड भरिएका झण्डै एक लाख कलिला युवा विद्यार्थी रित्तो ‘आशा’ लिएर फर्के। सम्मेलनको अन्तमा कोही पनि आश्वस्त हुन सकेनन्।  कार्यक्रमभरी उभ्रेको भतेर (खाना) स्थानीय घर विहिन (होमलेस) र असहाय (भल्नरेवल)लाई बाँड्दै स्कटल्याण्ड ‘दुलही अन्माएको घर’मा परिणत भयो।

पेरिस संझौता-२०१५ को कार्यान्वयन पक्षमा भएको अति नै महत्वपूर्ण कोप-२६ सम्मेलनले पृथ्वीको बढदो तापाक्रमलाई एक दशमलव पाँच डीग्रीमा सिमित गर्न ठोस कदम चाल्ने विश्वास गरिएको थियो। विनास भएको मेसो अमेरिकन सभ्यताको पुनरावृत्ति हुन नदिन जलवायु परिवर्तनले कृषि र खाद्य प्रणालीमा पारिरहेको असरबारे पनि केही हुन्छ भन्ने आशा थियो। जलवायु परिवर्तनकै कारण भविष्यमा बसाइसराइ तीब्र हुने बिषयले पनि सम्मेलनको बहसलाई तान्नु पर्थ्यो। फोसिल फ्युल (जमिनमुनिबाट उत्खनन गरिएको तेल, ग्यास, इन्धन) को प्रयोग घटाउन र त्यस्तो उद्योगलाई उपलब्ध गराउँदै आएको ऋण, लगानी, अनुदान र सहुलियत तत्काल रोक्ने माग गर्दै विश्वभर गुन्जिएको युवाहरूको आवाज सुनिनुपर्थ्यो। कार्बन, हरित ग्यास उत्सर्जनमा नगण्य योगदान रहेका तर जलवायु परिवर्तनका कारण अथाह क्षति व्यहोर्दै आएका साना निर्धन मुलुकले वर्षौंदेखि उठाउँदै आएको हानी नोक्सानीको क्षतिपूर्तिसम्बन्धी माग पनि सुनुवाइ भएन।

जुन कारण र स्रोतबाट सम्वृद्धि हासिल गरिएको छ त्यस्ता कारण र स्रोतको प्रतिकूल हुने गरेर ‘धनीहरूको क्लव’ले गरिव र प्रभावितहरूको पक्षमा निर्णय गर्ला? यो त असम्भव कल्पना हो! यस अर्थमा कोप-२६ सम्मेलन सीमित लाभग्राहीका लागि विजयोत्सव बन्न सकेको देखिए पनि वर्तमानका धेरै पीडित र सिङ्गो भविष्य भने पराजित, असुरक्षित देखिएको छ।

पछिल्लो समय आइपीसीसीले प्रस्तुत गरेको पृथ्वीको प्रलयकारी मार्गचीत्र झल्किने जलवायु प्रतिवेदन विगतदेखि अवलम्वन गरिएको नीति, रणनीतिहरू कै परिणाम हो। यही व्यवस्थाका पक्षधरहरू कोप-२६ मा प्राकृतिक स्रोतको निर्वाध, निर्मम दोहनलाई घटाउन हर्तेकर्ते भए पनि नाफाको संवृद्धि रोकेर सबैको सुरक्षित भविष्य कोर्ने कार्यमा फेरी कपटी देखिए। किनभने प्राकृतिक स्रोतको विनासमा सम्वृद्धि यसरी अडकाइएको छ कि त्यहाँबाट सहजै निस्कन सकिँदैन; मान्दैनन्। अहिले दोहोरिएको भूलको परिणाम भविष्यकालागि चर्को हुनेछ। निर्णय गर्ने यो पुस्तालाई नाति-नातिना पुस्ताले अपराधिका रुपमा इतिहास पढन नपरोस! जसरी आजको पुस्ता हिजोको पुस्ताले गरेको कमजोरीप्रति औंला ठड्याइ रहेको छ।

सम्मेलनको पहिलो हप्ताभर चीन र रुसको अनुपस्थितिले मिडिया ‘कन्जम्सन’ (उपभोग) गरियो। वर्तमान अमेरिकी राष्ट्रपति जो वाइडेन र विचैमा झुल्केका पूर्व राष्ट्रपति बाराक ओवामाले चीन र रुसको आलोचनामा समय बिताए। धनुवाँणको तीरलाई पछाडि तानेर शक्ति आर्जन गर्ने रणनीतिक शैलीमा राष्ट्रपति वाइडेनका जलवायू दूत जोन केरीले भने रुस र चीनको ‘कमन ग्राउन्ड’ विचार गरिने भनेर थुमथुमाए। अरबमा स्वघोषित विजय हासिल गरेको भनिएको अमेरिकी महत्वाकांक्षाको पछिल्लो घेराबन्दीमा परेको चीनसँग सहमति पनि भयो।

चीनले कोल (कोइलाजन्य खनिज) उत्पादनमा कठोर हुनु नपर्ने र अमेरिकाले फोसिल फ्युलमा आफ्नो उत्पादन खासै परिवर्तन गर्नु नपर्ने अवस्था बन्न, बनाउन सकेपछि शक्ति स्वार्थ र टकरावको यही नाटकबीच अभूतपूर्व सहकार्य हुने भनियो। सत्ता स्वार्थमा नेपालका प्रचण्ड र देउवाको ‘प्रजातान्त्रिक’ समीकरण जस्तै थियो चीन र अमेरिकाको यो सहमति पनि!

भारतले कोइलाको उत्पादनलाई ह्वात्तै ‘घटाउन’ नमानेर ‘कम गर्दै लैजाने’ भन्नेमा लिएकोअडानका कारण घण्टौं विना निर्णय बितेको सम्मेलन सहमतिमा आइपुग्दा ‘घटाउने’ शब्दको सट्टा ‘कम गर्दै लैजाने’ उल्लेख गरेर सकियो। हेरफेरको यस्तो फैसला सुनाउनु परकोमा सम्मेलनको अध्यक्षता गरेका आलोक शर्माले सबैकासामु ‘एपोलोजी’ (माफी) याचना गरेका थिए। पराजयको यही मनोविज्ञानका कारण उनी भावुक भएर निर्णय सुनाउँदै गर्दा आँशु रोक्न विवश देखिए। त्रुटि नै गरिएको रहेछ भने आफू चोखिने राम्रो चलाखी पनि शर्माले देखाए। आलोक शर्माले निर्णय सुनाउँदै गरेको यो दृष्यलाई मिडियाले ठूलो महत्व दियो।

वास्तविक समस्यामा मिडियाको ध्यान, सामग्री र सहभागिता पातलो, फितलो देखिएकोले विश्व जलवायु अभियन्ता ग्रेटा थनवर्ग र भेनेसा नेकेटेले मिडियालाई खुला पत्र नै लेखे। बुझ्नु पर्ने त के हो भने ‘मिडिया टाइकुन’ हुने सौभाग्य पाएकाहरूको सम्वृद्धिको आधार विज्ञापन हो भने विज्ञापन दिन पुग्ने नाफा त्यही कोइला र फोसील फ्युलको आम्दानीबाट सोहोरिएको छ।अनि फोसिल फ्युल विरुद्धको अभियानलाई निस्तेज पार्न यसै उद्योगले करोडौं डलर पर्दा पछाडिको ढोकाबाट लगानी गरेको तथ्य पनि पढन पाइयो।

कोप-२६ सम्मेलनलाई कसैले सफल भनिरहँदा धेरैले निराशाजनक, असफल समेत भनेका छन्। धनीहरूबाट पिडित र गरिबहरू फेरी पनि ठगिएका छन्।जबसम्म आफ्ना अवसर र चुनौतिमाथि एकाग्र भएर आफै शसक्त हुने आधार, जोश र प्रतिवद्धता सहितको ऐकवद्धता जाहेर गरिंदैन तवसम्म यसरी नै ठगिनुको विकल्प हुँदैन।कोप-२६ सम्मेलन २०२१ ले साना, निर्धन र पिडीत पक्षलाई दिएको सन्देश यही हो।

मिडिया बहसलाई‘फेक न्युज’को पाटोबाट ठूला व्यापारी समेत रहेका पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुझे जति कलिला अभियन्ताहरुले बुझ्ने कुरा पनि भएन। यी तिनै राष्ट्रपति ट्रम्प हुन् जसले पेरिस संझौता-१५ को सहमतिबाट अमेरिकालाई बाहिर निकालेका थिए। संयुक्त राष्ट्र संघद्वारा आयोजित एउटा कार्यक्रममा राष्ट्रपति ट्रम्पले जलवायु अभियन्ता वालिका ग्रेटा थनवर्गप्रति उपेक्षाको कटाक्ष पनि गरेका थिए।

अमेरिका, चीन र भारत जलवायु धेरै प्रदूषित गराउने विश्वका क्रमशः पहिलो, दोश्रो र तेश्रो ठूला अर्थतन्त्र, देश हुन्। कोप-२६ को सम्मेलन पछि यी तीनै मुलुकले आ-आफ्ना स्वार्थमा खासै ठेस नलागेको महसुस गर्न सके। अझ विश्व राजनीतिलाई आफ्नो स्वार्थमा बाँध्ने, खुम्च्याउने नयाँ रणनीतिमा सफल भएको ठानेको हुनुपर्छ। दुर्भाग्य के हो भने चीन र भारत विश्वमा धेरै जनसंख्या भएका मुलुक हुन्। त्यसैले सावधानी नअपनाइए नेतृत्वले अहिले लिएको निर्णयको शिकार हुन त्यहाँका ठूलो जनसंख्या वाध्य हुनेछन्। कोरोनाको महामारीमा धेरै नागरिकलाई चिहानमा गाढेको अमेरिकालाई पनि याद हुनु पर्ने हो कि प्राकृतिक विपत्तिलाई शक्ति र प्रविधिको ज्वारभाटाले रोक्न सक्दैन।

अनि, भर्खर भर्खरमात्र औद्योगिकिकरण र शहरीकरणको आधार (दोश्रो चरण) तयार गर्दै गरेका चीन र भारत ‘मास कन्जम्सन’ (रोस्टो-आर्थिक बृद्धिको पाचौं चरण) मा पुगिसकेको अमेरिकाले जे भन्छ त्यही मान्छन् भन्ने पनि भएन।

जलवायु परिवर्तनका कारण खाद्य सुरक्षा र स्वास्थ्यमा आएको तीब्र संकटका बारेमा त यो सम्मेलन पुरै अनविज्ञ देखियो। वास्तै गरेन। जलवायु परिवर्तनले खाद्य बस्तु र कृषि उत्पादनमा पारेको असर, चरम संकट, मूल्य वृद्धिका समाचार, विश्लेषण निरन्तर आइरहेका छन्। विश्वमा एक करोडभन्दा धेरै मानिसको ज्यान प्रतिकुल पर्यावरणको कारण जाने गरेको छ। प्रदूषित जलवायुले खियाउँदै लगेको ओजन तहबाट छिरेको रेडियो विकिरणका कारण कोरोना महामारी फैलिएको तथ्य विज्ञानले स्विकारेको तथ्य हो। तर शासकहरू भने रोम जलिरहँदा नीरोले झैं बाँसुरीको धुनमा मस्त देखिन्छन्।

कोप-२६ सम्मेलनमा एक्काइस जनाको नेतृत्व गरेर स्कटल्यान्ड उडनु अघि नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाले पश्चिम नेपालमा बेमौसमी अबिरल बर्षका कारण कृषि उत्पदनमा पुगेको क्षति देखेका, सुनेका थिए। किसानका आँशु ओभाएकै थिएन। तर उनी सम्मेलनलाई सम्वोधन गरेर नेपाल फर्कँदा आफूलाई अमेरिकी राष्ट्रपति वाइडेनले चिनेको भनेर हौसिँदै  पत्रकारलाई सुनाए। प्रधानमन्त्री देउवाले संसद अधिवेशन रोकिएको र एमसीसी अनुमोदन गरिने कुरा भएको सुनाए। तर जलवायु परिवर्तनका कारण नेपाली किसान र कृषिले भोग्न वाद्य पश्चिम नेपालको तत्कालिन त्यो दर्दनाक कहानीबारे न त प्रधानमन्त्री देउवाले राष्ट्रपति वाइडेनलाई सुनाउन सकेको बताए न त आफ्नो सहभागिताका कारण संकटसम्बोधन हुने आशा जागृत नै गराउन सके। किनभने उनलाई आफ्नो राजनीतिक यथार्थमा अमेरिकी शक्ति जोडिएको भान दिनु थियो। विश्व राजनीतिको दासत्व चरित्र यहाँसम्म जोडिएको उदहारण थियो प्रधानमन्त्री देउवाका भनाइ। सम्मेलनमा सहभागिता भयो, हेलो हाई रमाइलै भयो। तर किसान रोए पनि, वाली नष्ट भए पनि, अस्थिरता अदालतसम्म फैलिए पनि प्रधानमन्त्रीले सम्मेलनमा भाग लिने र फर्केर कुर्चीमा टाँस्सिनु बाहेक गर्न सक्ने के नै रहेछ र!

जसले पनि आफ्नै पक्ष र हितमा निर्णयगर्छ; गराउँछ। धनीहरूको क्लवमा परिणत भएको कोप-२६ सम्मेलनमा पनि यस्तै भयो। नेपालजस्ता मुलुकले जलवायु परिवर्तनबाट हुनजाने हानी नोक्सानीको क्षति पूर्तीबारे केहि न केही निर्णय हुने आशा गरेका थिए। ब्यग्र प्रतीक्षा थियो। अभियन्ताहरूको जायज माग, आवाजको सुनुवाइ होला भन्ने ठानिएको थियो। लाखौं युवा पुस्ताले जुलुसमा सहभागिता जनाए। कार्यक्रम स्थल स्कटल्यान्डको सडकमा जिवन बिताउने हजारौं (तेह्र सय) घरवार बिहिन र असहायलाई सहभागिहरूले खाइनसकेर धेरै भएको खाने कुरा बाँढियो तर खाने कुराको उत्पादन र सहज आपूर्तिलाई जलवायु परिवर्तनेले पारेको समस्या र समाधानबारे सोचिएन।

यथार्थ यही थियो कि अन्तर्राष्ट्रिय बजारमा बढाइएको इन्धनको मूल्यका कारण ब्रिटिस पेट्रोलियम र शेल कम्पनीले यही सम्मेलनको अवधिमा करोडौं अमेरिकी डलर कुम्ल्याउन सफल भएका थिए। त्यसैगरी एकसय अठारवटा प्राइवेट जेटले करिव एक हजारभन्दा ज्यादा सीओ२ (CO2) फालेर सम्मेलनमा सहभागिता जनाउन धनी देशका प्रमुखहरू स्कटल्यान्ड आइपुगेको ‘फोर्ब्स’ अनलाइनले लेख्यो। धनी र गरिबबिचको खाडललाई सम्मेलनका बेला सडकमा बाँडिएको भतेर र थापिरहेका हातहरूले प्रष्ट पारेका थिए। आफूले बनाएका नीति नियमका कारण त्यस्तो भोग्न वाध्य मानिसलाई देखेर दुख्नु पर्नेको मन दुखिरहेको थिएन।

यो सबैको कारण र परिणाम नै व्यवस्था र त्यसका मान्यताहरू हुन भन्नेमा विस्तारै भ्रम हटन थालेको छ। कोप-२६ सम्मेलनले लिएका निर्णयबाट कसैलाई पनि सन्तोष लागेको छैन तर पनि सबै चुपचाप मान्न बाध्य छन्।संकट सन्निकट देखिएको छ र पनि जोगाउन कोही तम्सिरहेको छैन। बरू यसैलाई माध्यम बनाएर नाफा, स्वार्थ विस्तार गर्ने रणनितिक दाउपेच बुनिएका छन्। अहिले भोगिएका संकट हिजो गरिएका काम र नगरिएका निर्णयहरूको परिणाम हो। यो नै विश्व राजनीति, शासनको चरित्र हो। संकटग्रस्त व्यवस्थाको परिवर्तनमात्र विकल्प हो।

कोप-२६ सम्मेलनलाई कसैले सफल भनिरहँदा धेरैले निराशाजनक, असफल समेत भनेका छन्। धनीहरूबाट पिडित र गरिबहरू फेरी पनि ठगिएका छन्।जबसम्म आफ्ना अवसर र चुनौतिमाथि एकाग्र भएर आफै शसक्त हुने आधार, जोश र प्रतिवद्धता सहितको ऐकवद्धता जाहेर गरिंदैन तवसम्म यसरी नै ठगिनुको विकल्प हुँदैन।कोप-२६ सम्मेलन २०२१ ले साना, निर्धन र पिडीत पक्षलाई दिएको सन्देश यही हो।पश्चिम नेपालमा बेमौसमी झरीका कारण पिडित हुन पुगेका किसान परिवारले कोप-२६ सम्मेलनमा सहभागिता जनाएका प्रधानमन्त्रीबाट के पाउन सके, सक्छन्? गम्भिर हुने बिषय यही हो।

@simantablog

मंसिर १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्