
मोरङ – कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहले आगामी १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी कायम रहेको बताएका छन्।
गणेशमान सिंहको १०७औं जन्मदिवसका अवसरमा विराटनगरमा बुधबार आयोजित कार्यक्रममा नेता सिंहले पार्टीभित्र देखिँदै आएको अन्तरकलह अन्त्य गर्दै लजाने बताए।
कार्यक्रममा उनले पार्टीको नाममा अहिले देखिएको विभिन्न ए, बी, सी जसरी चलेको हावालाई अन्त्य गर्दै पार्टीलाई विधि विधानअनुरूप अगाडि बढाउनेमा जोड दिए।
महाधिवेशनलाई लक्ष्य गर्दै अन्यले आफूमाथि जातीयतालाई प्राथमिकता दिने आरोप लगाउने गरेको बताउँदै नेता सिंहले भने, ‘मलाई नेवार समुदायलाई प्राथमिकता दिएको आरोप लगाउँछन्। मलाई काठमाडौंबाहिर ननिस्कने नेताका रुपमा चित्रण गर्छन्। मेरो बारेमा दुष्प्रचार गरिएको छ।’
सभापतिमा आफ्नो उम्मेदवारी कायम रहेको बताउँदै नेता सिंहले सभापतिमा चयनको दोस्रो साताबाटै देशभरका वडा सभापति भेला गर्ने उद्घोष गरे।
उनले भने, ‘वडा सभापतिदेखि पार्टीका सबै वर्गीय प्रमुख, विभिन्न कमिटीलाई चलायमान बनाउनेतर्फ केन्द्रित हुनेछु।’
पार्टीका महामन्त्री शशांक कोइरालाप्रति लक्ष्य गर्दै उनले अघिल्लो महाधिवेशनमा आफूले सभापति सुशील कोइरालाको भन्दा बढी मत हासिल गरेको बताएका थिए।
उनले भने, ‘संविधान जारीदेखि उपप्रधानमन्त्री, पार्टी उपसभापति, निर्वाचित महामन्त्रीको जिम्मेवारी वहन गरिसकेको छु तर केही साथी मेरो दुष्प्रचारमा लागिपरेका छन्।’
संविधान जारी गरी ऐतिहासिक कार्य गर्न सफल कांग्रेस निर्वाचनमा खुम्चिन पुग्नु नै नेतृत्वको असफलता भएको उनले बताए। भने, ‘नेतृत्वको कारण नै निर्वाचनमा जनताले पत्याएनन्। निर्वाचनमा हार व्यहोर्नुप¥यो। जसकारण १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनु आवश्यक छ। अहिलेको अवस्थाले पार्टी धेरै दिन चल्नेवाला छैन।’
कार्यक्रमलाई सम्बोधन गर्न बुधबार बिहान आएका सिंह बेलुका काठमाडौं फर्किएको गणेशमानसिंह फाउन्डेसन मोरङ शाखाले जनाएको छ।