मुगु आगलागी

कानमा ठाेक्किएकाे त्याे आवाज ‘डोजर चैँ किन्न सक्न्या, एक दमकल किन्न नसक्न्या?’

कात्तिक २९ गते रातको पौने बाह्र भैसकेको थियो। मुगु सदरमुकाम गमगढीको तल्लो बजारमा भीषण आगलागी भयो। ठिल्ले लामाको घरमा बालेको सानो दियोले थाकेर सुतेको बजारलाई उठ्न बाध्य पार्‍यो।

रातभर बजार सुत्न पाएन। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल लगायत स्थानीयवासी हात पोल्दा, जस्ताले खुट्टा काटिँदासम्म आगो निभाउन तल्लीन भए। उद्धारमा लागेका दुई जनालाई त अस्पताल नै लानु पर्‍यो।

पहिलो घर आगलागी हुँदा नै प्रशासनले खबर पाएर उद्धार टोली फिल्डमा पठाएको थियो। आगलागीबारे समयमै थाहा पाउँदासमेत आगो नियन्त्रणमा लिन सकिएन। प्रयास गर्दागर्दै २१ घर–टहरा खरानी बने। हिजोसम्म सहरका सम्पन्नहरु एकै झट्कोमा एकैरातमा घर न घाटका भए। जीवनभर कमाएको सम्पत्ति खरानी भयो।

खानेपानीको अभावमा बाँचिरहेको गमगढीमा आगलागी हुँदा पानीको हाहाकार थियो। विगत दुई दिनदेखि धारामा पानी कम आइरहेको थियो। त्यसैपनि लाइनमा बसेर पानी थाप्नुपर्छ यो शहरमा। तल सुस्साइरहेको कर्णाली, शीरमा बसेको रारा र नजिकै बगिरहेको गमगाड खोला, र बीचमा जलिरहेको गमगढी बजार।

असोज २६ मा पनि यस्तै दर्दनाक घटना भएको थियो। दशैँ मनाउन घर आउँदै गरेका ३३ जनाले बस दुर्घटनामा ज्यान गुमाएका थिए। चाडपर्वको मुखमा यति ठूलो दुर्घटना हुँदा पुरै जिल्ला स्तब्ध भयो। कति आमाले कोख गुमाए, कति बाले सहारा। कतिका दाजुले भाइ गुमाए, कतिका भाइले दिदी। सबैभन्दा ठूलो त सबैले आफ्नो खुसी गुमाएका थिए। त्यो घटनाको ठीक महिनापछि मुगुले अर्को पीडा भोगेको छ। गमगढी बजार आगोले खरानी भएको छ। निको हुँदै गरेको घाउमा चुक हाले झैं भएको छ।

आगो लागेको थाहा पाएलगत्तै विद्युतले लाइन काट्नु बाध्यता बन्यो। त्यसपछि त बजार पूरा अन्धकार भयो। नगरपालिकाका सोलार त्यसैपनि बल्दैनन्, झन् आगो लागेपछि तिनले पनि उज्यालो दिनसक्ने अवस्था रहेन। अब उज्यालोका लागि विकल्प दुई थिए। पहिलो, ठूलो रुप लिँदै गरेको त्यही आगोको ज्वाला, जो बजार खरानी बनाउन तम्सिरहेको थियो। दोस्रो, मोबाइल फोनको टर्च लाइट। उद्धारमा खटिएकाहरुले दुवैको सहारा लिए।

साँघुरो बाटोमा मान्छेको खचाखच भीड अनि विभिन्न आवाज मिसिएको त्यो कोलाहल। कोही गुहार माग्दै थिए– मेरो घर बचाइदेऊ भन्दै। कोही आफन्त खोजिरहेका थिए त्यो भीडमा। यहीँ जन्मेर यहीँ खेल्दै, खाँदै हुर्केका लागि पनि त्यो रात बिरानो बन्यो। अपरिचित बन्यो गमगढी बजार। जलिरहेका घरबाट सिलिन्डर पड्केका आवाज आइरह्यो।

तिव्र गतिमा फैलिरहेको आगोको डर सारा बजारवासीलाई थियो। नहोस् पनि कसरी! ज्यानमारा आगोले ताण्डव जो मच्चाइरहेको थियो। त्यही डरका कारण मानिसहरु अध्याँरोमा आ–आफ्नो घरका, पसलका सामान बाहिर फालिरहेका थिए। सायद घर जलिहाले पनि सामान बचाउन मात्र सकेपनि भन्ने सबैलाई थियो।

आगलागी भैरहेको ठाउँभन्दा करिब १०० मिटर तल–माथिसम्म पनि लस्करै यस्ता दृश्य देखिन्थे। पोकापोकी र आफ्ना दुधे बालक काखमा च्यापेर साँघुरो अनि अध्याँरो गल्लीमा रुँदै कतै हिँडिरहेकाहरुका ती आवाजलाई सम्झन्छु। आगो दन्किँदा मात्र केही विम्व देखिन्थे। नत्र रोएका आवाजले मात्र अनुमान गर्न सकिन्थ्यो कि ती पुरुष हुन् कि महिला भनेर।

मानिसहरु ज्यान दिएर आगो निभाउन लागिपरेका थिए। पुरुष, महिला, बालबालिका सबै तल्लिन थिए आगो निभाउन। सुरक्षाकर्मी पनि कहिले यता, कहिले उता जाँदै थिए आगो निभाउन। सेनाले ल्याएको कार्वन ग्यासका केही सिलिन्डर त्यो आगोका अघि सितन पनि भएन। एकैछिनमा रित्तिए ती सिलिण्डर। बजारमा पानी अभवका कारण सेनाले ब्यारेकबाटै वाटर ब्यागमा पानी भरेर ल्यायो। तर त्यो आगो निभाउनका लाग पर्याप्त थिएन।

गमगढीमा एउटा पनि दमकल रहेनछ। यो कुरा पनि त्यही राति सुने मैले पनि। एक हुलले नेतालाई सराप्दै गरेको सुनेँ।

पहिलो आवाज मेरो कानमा ठोक्कियो, ‘सालाहरु डोजर चै किन्न सक्न्या, एक दमकल किन्न नसक्न्या? दमकल भैदिया भया भौतिमा २ घर मात्र जल्न्या थिया।’

दोस्रो आवाज, ‘आफ्नो लादो (भुँडी) भर्नलाई डोजर किन्दा छन् रे हो। जन्तालाई भनि कौदो किन्दा छ्न् त।’

तेस्रो आवाज, ‘चुनाव आउनदेऊ न ! अनि जान्या छु।’

यी आवाज सुन्दा लाग्थ्यो यो आवाज तिनै आवाज निकाल्न नसक्नेहरुको हो, जो अरुबेला सबै बुझेर पनि बुझ पचाएर बस्न बाध्य छ्न्। हुन पनि भोलिपल्ट बुझ्दा शहरमा त के, जिल्लाभरी नै एउटा पनि दमकल रहेन छ। डोजर, लोडर, ट्याक्टर भने फालाफाल!

आगो निभाउन पानी अभाव भएपछि माटो फ्याँकेर आगो निभाइ रहेका थिए। जसरी हुन्छ सबैलाई आगोको गतिलाई अवरोध गर्नु थियो। रात बिहानमा बदलिँदै थियो।

यो पनि एउटा बिहान थियो, जहाँ भालेको साटो मान्छे बासिरहेका थिए। यो पनि एउटा बिहान थियो, जहाँ कोही चिनेको भेटिँदा पनि शुभ प्रभात भन्न जिब्रो लड्बडिन्थ्यो। यो पनि एउटा बिहान थियो, जहाँ धेरै बोल्नेहरु पनि इसारामा मुन्टो हल्लाएर कुरा गर्थे।

तर त्यही बिहान यस्तो कुरा पनि सुनेँ– ल राति फलानोको घर चोरी भो रे! लौन मेरो सिलिण्डर यतै राख्या थेँ कसले लग्यो? पसलको सामान ओसार्न सहयोग गर्न आउने नै चोर परेछ्न्!

सामान त ओसारेछ्न् तर कता ओसारे सामान धनीलाई धरी थाहा पत्तो छैन। कसैको घरैमा आगो निभाउन भनी पसेकाले दराज फोडेछ्न् रे!

यस्ता हल्ला सुनेपछि साह्रै नमज्जा लाग्यो। सोचेँ– देउता र दानवको सङ्गै आगमन भएछ। एकै रातमा दुवैले आफ्नो रुप देखाएर गए।

भोलिपल्ट आगलागी पीडितलाई सान्त्वना दिनेको लर्को थियो। आफन्त भएकाहरु पीडित आफन्तको पीडा बाँड्न आएका थिए। रोइरहेकालाई सम्झाउँदै आफू पनि आँशु झार्दै सुक्क सुक्क गरिरहेका दृश्य तमाम थिए। तिनको पीडामा सरिक हुन गाउँँगाउँबाट मानिसहरुको ठूलै भीड लागेको थियो।

एउटा धुवा आइरहेको जलेको घरमा दुई जना विदेशीले खनिरहेको देखेँ। नजिकै गएर के गर्न लागेको हो? भनेर तिनलाई सोधेँ। त्यो जलेको घरवाला दिदी मैले सोधेको सुनेर मेरो छेउ आइन्। उनको अनुहार रुँदारुँदा सुन्निएको थियो। उनले ती विदेशी आफूलाई सहयोग गर्न आएको बताइन्। बुझ्दै जाँदा ती दिदी एकल महिला रहिछ्न्। एक छोरी र छोरा पनि रहेछ्न्। छोरी १६ वर्ष जतिकी, छोरो भने ७ वर्षको। केही वर्ष पहिले उनले श्रीमान् गुमाएकी रहिछन्। बजारमा रहेको घरको साहराले छोराछोरी पाल्दै आएकी थिइन्। आगोले उनको घर जलायो। र अहिले जलेको खरानीभित्र केही बाँकी छ कि भनि खोज्दिन ती विदेशीले सहयोग गरिरहेका थिए।

मुगु एफ. एम. का मित्र खडक सुनार र म साढे बाह्र बजेतिर खाना खान कोठातर्फ जाँदै थियौँ। बाटैमा एक जनाले मेरो बाटो छेके, ‘सर मेरो घर दैलेख हो। मेरा तीन भाइ र दुई बालबच्चासहित हामी टेलरिङ्को व्यवसाय गर्न भनी एक महिना पहिले मात्र यहाँ आएका हौँ। हिजोको आगोले हाम्रो पसल रहेको घर पनि जल्यो। पसल पनि जल्यो। हामीले केही निकाल्न पाएनौँ। खाना खाने पैसो पनि छैन।’

उनी बोलिरहेका बेला उनका परिवारका सदस्य पनि देखिए। मुगुको चिसो मौसम, एउटा नानी खाली खुट्टा उभिएकी थिइन्। सोध्दा थाहा पाएँ, आगलागीपछि भाग्ने बेला नानीको चप्पल छुटेछ। चप्पल किन्ने पनि पैसा रहेनछ।

बेलुकासम्म पीडितका लागि केही राहत सङ्कलन भैरहेको थियो। जिल्ला प्रशासन कार्यलयले साँझतिर पीडितलाई १५ हजारका दरले पैसा र ब्यालेङ्केट पनि बाढ्यो। रेडक्रसले त्रिपाल, भाँडाकुँडा बाड्यो भन्ने पनि थाहा पाएँ।

यो दिन कोही रुँदै भगवान गुहार्दै गरेको सुनिन्थे त कोही रुँदै भगवानलाई सराप्दै गरेको पनि सुनियो। यस्तै दृश्य २०७२ सालमा भुकम्प जाँदा काठमाडौँमा देखेको थिएँ। त्यो रात आगोले पनि भनिदियो मेरा लागि सबै एकै हुन्।

मंसिर २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्