बुढीगंगा युवक हत्या प्रकरणः चार जना आरोपी पक्राउ, तीन जना अझै फरार

मोरङ– मोरङको बुढीगंगा गाउँपालिकामा युवकको हत्यामा संलग्न भएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत शनिबार राति करिब ८ बजे गाँउपालिका १ मा नानु लिम्बूको भतिजीको जन्मदिन मनाउँदै गर्दा २६ वर्षीय रिजन दाहालको खुकुरी प्रहार गरी हत्या भएको थियो।

सो घटनामा संलग्न भएको आरोपमा मोरङ सुन्दरहरैंचा ७ का २१ वर्षीय विक्रम खड्का, सुन्दरहरैंचा ६ का २४ वर्षीय ईश्वर लिम्बू, २० वर्षीय सुदीप उराव र १८ वर्षीय सुदीप उरावलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए।

पक्राउ परेका २१ र १८ वर्षीय सुदीप उराव दुई फरकक व्यक्ति भएको प्रवक्ता श्रेष्ठले बताए।

शनिबार राति लिम्बूको भतिजीको जन्मदिनमा सहभागि धनकुटा पाख्रिवास नगरपालिका ६ का २६ वर्षीय रिजन दाहाललाई अर्को स्थानमा लगेर आक्रमण गरिएको थियो।

यस्तै दाहालका साथी कमल थापा र नानू लिम्बूमाथि पनि आक्रमण भएको थियो। उनीहरु सामान्य घाइते भएपनि टाउकोमा खुकुरी प्रहार भएका दाहाललाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो। घटनापछि सबै जना फरार रहेका थिए।

यद्यपि अझैपनि प्रहरीले घटनामा संलग्न थप ३ जना फरार रहेको जनाएको छ। पक्राउ परेका ४ जनालई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट बिहीबार ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।

मंसिर २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्