कतारसँग तीन खेलको टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला नेपाली महिला टोलीद्वारा क्लिन स्विप, तेस्रो खेलमा एक सय ९ रनले विजयी

काठमाडौँ- नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्धको तीनवटा टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलको शृंखला क्लिन स्विप गरेको छ।

तेस्रो खेलमा बिहीबार एक सय ९ रनको जित हात पार्दै नेपाली टोलीले शृंखला ३-० ले जितेको हो। यसअघिका दुवै खेलमा पनि नेपालले भारी अन्तरको जित हात पारेको थियो।

दोहामा १६५ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ५५ रन मात्र जोड्न सक्यो। नेपालका सबनम राई, सरस्वती चौधरी र रुविना क्षेत्रीले एक एक विकेट लिए। यसअघि

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर एक सय ६४ रन जोडेको थियो।

नेपालको पालीमा प्रारम्भिक ब्याट्सवुमन सीता राना मगर एक्लैले ८२ रन बनाइन्। उनले ७२ बल खेल्दै सात चौका प्रहार गरिन्।

टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला खेलाडीको यो व्यक्तिगत उच्च स्कोर हो।

मंसिर २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्