प्रदेश १ का आर्थिक मामिलामन्त्री आङ्बो भन्छन्ः अघिल्लो सरकारले ल्याएको बजेट पुनरावलोकन हुन्छ

मोरङ– प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले चालु आर्थिक वर्षको बजेट पुनरावलोकनसहित परिमार्जनमा जोड दिने भएका छन्।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री आङ्बोले पुरानो सरकारले ल्याएका राम्रा कार्यक्रमलाई निरन्तरता दिने बताए। पत्रकार सम्मेलनका क्रममा उनले मंसिरभित्र पुनरावलोकन गर्दै पुस महिनाबाट बजेट कार्यान्वयन गर्ने गरी तयारी गरिने बताए।

यद्यपि, अनुत्पादन तथा कार्यकर्तालाई भर्ती गराएका कार्यक्रममा कटौती गरिने मन्त्री आङबोले बताए।

मन्त्री आङ्बोले अनुत्पादक क्षेत्रको बजेट कटौती गर्दै प्राथमिकताका आधारमा नयाँ योजना समावेश गरेर चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा लगिनेमा जोड दिए।

त्यसैगरि सरकारले बजेट प्रतिस्थापन विधेयक भने संसदमा नलैजाने बताए। पत्रकार सम्मेलनका क्रममा मन्त्री आङ्बोले चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार र पर्यटकीय क्षेत्र प्रर्वद्धन सम्बन्धी आयोजनाहरुलाई परिणाममूखी रुपमा कार्यान्वयनमा लैजाने सरकारले तयारी गरेको बताए।

सरकारले स्वास्थ्य, शिक्षा तथा रोजगारी क्षेत्रलाई प्राथमिकतामा हेर्दै कार्यक्रम कार्यान्वयनमा अघि बढाउने उनको भनाइ छ। सोही क्रममा मन्त्री आङ्बोले ६ महिनाअघि आफूले मन्त्रालय छाडेयता सरकारले काम गर्न नसकेको बताए।

प्रदेश १ को बजेट पूर्वमुख्यमन्त्री शेरधन राईको नेतृत्वमा रहेको सरकारले ल्याएको हो। जुनबेला आर्थिक मामिला मन्त्री माओवादीबाट निर्वाचित टंक आङ्बुहाङ रहेका थिए।

राजनीतिक विचलनसँग आङ्बुहाङ माओवादीबाट सो समय एमाले नेतृत्वको सरकारमा मन्त्रालयको जिम्मेवारीवहन गर्न पुगेका थिए। त्यसपछि हाल उनी पदमुक्त रहेका छन्।

मंसिर २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्